गुरही पर्व धुमधामसँग मनाइदैँ

धनगढी : धनगढी उपमहानगरमा बसोबास गर्दै आएका थारू समुदायले गुरही पर्व रुपमा बनाउने तयारी गरेका छन् । गुरही पर्व तयारी सम्बन्धमा जानकारी दिन बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा धनगढीमा बसोबास गर्ने थारू समुदायले साउन २५ गते धनगढीको क्याम्पस चोकमा सामुहिक रूपमा गुरही पर्व मनाउने जानकारी दिएको हो ।

छरिएर मनाउने गरिएको गुरही पर्वलाई एकैसाथ मनाउँदै पर्वलाई संस्थागत गर्न केही वर्षयता धनगढीको गुरही चोकमा थारू समुदाय सम्वद्ध विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा यो पर्व भब्य रुपमा मनाउने तयारी भइरहेको सखी सञ्जालका संयोजक उन्नती चौधरीले बताइन् । परापूर्वकालदेखि नागपञ्चमीको दिन थारू समुदायले गुरही पर्व मनाउँदै आएकोले यो पर्वसँगै अन्य पर्वको शुभारम्भ हुने बातचित घर धनगढीका संयोजक ठाकुरप्रसाद करिया प्रधानले बताए ।

उनले गुरही पर्बको अवसरका साउन २४ गते बिहान ७ बजेदेखि १२ बजेसम्म गुरही चोकमा रक्तदान कार्यक्रम, साउन २५ गते दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सोही चोकमा सांस्कृतिक कार्यक्रम र २५ गते बेलुका गुरही सेलाउने कार्यक्रम रहेको बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । खेतीपाती सकिएपछि धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतिक) चोकमा असराउने (सेलाउने) र सेलाइएका गुरहीलाई गाउँका युवाहरूले सजाएर ल्याएका सोप्टाले पिट्ने चलन रहि आएको करियाप्रधानले बताए ।

गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने विश्वास रहिआएको थारू समुदायको प्रचलन रहेको छ । गुरही सेलाउँदा साना बालबालिकाहरूमा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहि आएको छ । पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुको साथै गाउँमा भएको दुःख, कष्ट, संकत, बिपत्ति भाग्ने जनविश्वास रहेको छ । पहिल्यैदेखि थारू समुदायमा गुरही पर्व गाउँ–गाउँमा मनाउँदै आए पनि गुरही पर्वलाई संस्थागत गर्न धनगढीमा छरिएर रहेका थारूहरूले एकैसाथ रमाइलो गरि गुरही मनाउने गरेको थारु अगुवा नेताको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.