धनगढीमा गिरीले चोरी गरेका गरगहना खाल्डोमा भेटिए

अत्तरिया, २६ साउन : धनगढी उपमहानगरपालिका–४ का शिक्षक योगेन्द्र ओझाको घरबाट चोरी गरिएका सुनका गरगहना खाल्डोमा लुकाएको अवस्थामा फेला पारिएको छ ।
धनगढी–१८ फूलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीले नगद, सुन र चाँदीका गरगहना चोरी गरेर धनगढी उपमहानगरपालिका–१ हुलाक लाइनको एक घरको आँगनमा खाल्डो खनेर लुकाएको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीले शनिवार उक्त गरगहना फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शिक्षक ओझाको घरबाट गिरीले चोरी गरेका सुनको एउटा नौगेडी, २ वटा मंगलसुत्र, ३ वटा सुनका माला, एउटा सुनको बाला र १ सय ६० वटा टप खाल्डोमा गाडिएको अवस्थामा भेटिएको बताए । प्रहरीले घटनास्थल कार्य सकेर उक्त गरगहना बरामद गरेको छ ।
बुधवार शिक्षक ओझाको घरमा कोही नभएको मौका पारेर गिरीले ढोका फुटाएर चोरी गरेका थिए । चोरी मुद्दामै तीन वर्ष कैद सजाय भुक्तान गरेर १७ साउनमा कैलाली कारागारबाट छुटेका गिरीले ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेका थिए ।
प्रहरीले यसअघि नै गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिसकेको थियो । गिरीलाई चोरी मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.