धनगढी, २६ साउन : रक्तदान जीवन् दानको मुल मर्मलाई आत्मसात गर्दै कैलाली उद्योग बाणिज्य संघ, कैलालीको सहकार्य र रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा उत्तरबेहडीस्तिथ पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा बैतडी समाज कैलालीले १३ औँ रक्तदान महोत्सव पुरा गरेको छ । उक्त रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका र त्यसमध्ये पनि ३० जनाले पहिलो पटक गरेको बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले बताए ।
बैतडी समाज कैलाली हरेक बर्ष रक्तदान महोत्सवको आयोजना गरी रगत अभावलाई केही हद सम्म भए पनि सहयोग गरी रहेको समाजका अध्यक्ष भट्टले बताए ।
रक्तदान महोत्सव गर्नु भन्दा अगाडि विभिन्न कलेजहरु साथै विभिन्न ब्यक्ति विशेष, संघ संस्थाहरु लगायतका ठाउँठाउँमा भेला र भेटघाट कार्यक्रम मार्फत समाजले ‘रक्तदान सचेतना’ कार्यक्रमहरु पनि सम्पन्न गरेको थियो ।
यसपटकको उक्त रक्तदान महोत्सवमा धनगढी प्राविधिक नमुना विद्यालयका थुप्रै विद्यार्थीहरु सहित ३० जनाले पहिलोपटक रक्तदान गरेको कार्यक्रम संयोजक वीरबहादुर महराले बताए । पहिलोपटक रक्तदान गर्नुहुने रक्तदातालाई स्थानीय विभिन्न समाजसेवी ब्यक्ति, अस्पताल, रेस्टुरेन्ट, सर्जिकल हाउस, बेकरी तथा कलर ल्याब हरुले आफ्नो सेवा सुबिधामा पूर्ण निःशुल्क र केहिमा विशेष छुट पाउने गरि रक्तदाताको सम्मानमा समाज संङ्ग हातेमालो गरेको कुरा कार्यक्रमका सह–संयोजक लोकेश भट्टले बताए ।
रक्तदान महोत्सव बिहान ८ बजे देखि शुरु भएर करिब १ बजे सम्म सञ्चालन भएको हो । समाजले रक्तदान महोत्सवमा सहभागि भएका सम्पूर्णको लागि चियापान, खिर र खानाको समेत ब्यवस्था गरेको थियो ।
उक्त कार्यक्रममा उपस्तिथिका लागि धनगढीवासी सम्पूर्णलाई समाजका अध्यक्ष, समाजसेवी, माया प्रकाश भट्टले हार्दिक धन्याबाद समेत दिए ।