
बाजुरा, २८ साउन : बाजुरामा उत्पादन भएका स्याउ बजारिकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको छ । बाजुराको बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, गौमुल गाउँपालिकाका विभिन्न स्थानमा पर्याप्त मात्रामा स्याउ उत्पादन हुने भए पनि बजारिकरणका लागि समस्या हुने भएकाले यस वर्ष उत्पादित स्याउको बजारिकरणका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको हो ।
अहिले स्याउको बजारिकणमा सहयोग तथा बाजुरामा स्याउ खेती व्यवसायको संभावना अध्ययनका लागि कृषि ज्ञान केन्द्र बाजुरा कृषि प्रविधिकको टोली सहित कृषकका बारीमा पुग्न थालेको छ । बाजुरामा कृषि उपजहरु पर्याप्त मात्रामा उत्पादन हुने संम्भावना भएपनि कृषकले विभिन्न समस्याका कारण चाहेजस्तो उत्पादन गर्न नसकेको र गरेपनि बजारिकरण तथा व्यवस्थापनमा समस्या भएको गुनासोपछि स्वयंम कृषि ज्ञान केन्द्र बाजुरा कृषि प्रविधिकको टोली सहित कृषकका बारीमा पुगेको कार्यालय प्रमुख भुमिराज उपाध्यायले बताए ।
कृषि ज्ञान केन्द्र बाजुरा गत साता मात्रै यो वर्ष फलेको स्याउ, बाटो र बजारीकरणको अवस्था बुझ्न बाजुराको सबैभन्दा बढी स्याउ उत्पादन हुने क्षेत्र बुढीनन्दा नगरपालिका वडा नं ९ मा रहेको अंगाउपानीमा पुगेको थियो । उत्पादनबाट मात्रै बाजुरालाई समृद्ध बनाउन सकिन्छ भन्ने अभियान सहित कृषि ज्ञानकेन्द्र बाजुराले एक वर्षमा मात्रै स्याउ सहित ४३ हजार बिरुवा रोपेको बताएको छ ।
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ अंगापानीका रहेको साहारा स्याउ फारमका संचालक उज्वल रावतले व्यवसायिक स्याउ खेतीबाट एक सिजनमा ६ सय क्विन्टल स्याउ उत्पादन गर्ने गरेको छ । स्याउ व्यवसायबाटै वार्षिक १२ देखि १५ लाख नगद कमाउँदै आएका उनले आफुले विभिन्न सिजनमा विभिन्न किसिमका स्याउ फलाएपनि सोचेजस्तो बजार नभएकाले उत्पादन भएको आधाजति स्याउबाट उपलब्धी लिन नसकिएको गुनासो गरे ।
स्याउ बजार पुग्नुभन्दा अगाडि नै प्रयोगमा ल्याउनका लागि चिप्स लगायत अन्य कुनै परिकार बनाउनका लागि आवश्यक स्रोत साधन र बजार नभएको र स्याउ नै बजार पुर्याउँदासम्म ५० प्रतिशत उत्पादन खेर जाने भएको उनको भनाई छ । बाजुरामा सबैभन्दा बढी स्याउ उत्पादन पालिकामा मार्तडी–कोल्टी सडकले यो क्षेत्रलाई जोड्ने गर्दछ । वर्षायाममा ४२ किलोमिटर रहेको मार्तडी–कोल्टी सडकखण्डमा ३ वटा गाडी चढेर केही बाटो पैदल यात्रा गर्नुपर्ने हुन्छ । सो सडकमा पर्ने अनाई, बाउली र बड्डीगाड खोलामा पक्की पुल बनेका छैनन भने कुनै ठाँउ पहिरोले अवरुद्ध छ । उत्पादन व्यवस्थापनका लागि (कोल्ड स्टोर) नभएको र कुनै स्थानमा भएपनि नियमित बिद्युत नहुँदा संचालनमा आउन नसकेको र असोजमा बाटो खुल्दासम्म स्याउ बारीमै कुहिएर खेर जाने व्यसायीको दुखेसो छ । यो वर्ष कृषि ज्ञानकेन्द्र बाजुराले बजारीकरण (ढुवानी तथा अन्य) का लागि सहयोग गर्ने भएको हो ।
