अत्तरिया : क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहमा एकिकृत फोहोरमैला ब्यवस्थापन केन्द्र बनिरहेको छ ।
एकसाथ शुरु भएको परियोजनाबाट बनिरहेको फोहोरमैला व्यवस्थापन केन्द्र गोदावरी नगरपालिकामा ८६.४ प्रतिशत बनिसकेको छ भने धनगढी उपमहानगरपालिकामा शुरुवाती चरणमै छ ।
संघीय आयोजनाका कार्यान्वयन ईकाई धनगढीका अनुसार धनगढी–७, पटेलाको जंगलमा गत जेठ महिनाबाट मात्रै सो केन्द्र निर्माण शुरु भएको छ ।
हालसम्म भौतिक प्रगति ७.८७ प्रतिशत र आर्थिक प्रगति ४.१८ प्रतिशत भएको ईकाईका ईञ्जिनियर शौरभ कलौनीले बताए । उनका अनुसार ग्राउण्ड क्लियर गरी फाउण्डेशनको भइरहेको छ ।
दुई वर्षको लागि ९६ करोड ८२ लाख ३९ हजारमा चाइनाको एमएस सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडसंग ठेक्कामा सम्झौता भएको छ ।
कम्पनीले ७२.५ प्रतिशत निर्माणको काम र बाँकी खरिद र सुरक्षाको काम गरिरहेको छ । सोही कम्पनीसंग गोदावरी–३, चौकीडाँडा जंगलमा फोहोर मैला व्यवस्थापन केन्द्र बनाउन ५१ करोड ६९ लाख ७४ हजार रुपैयाँमा सम्झौता भएकोमा सम्झौता रकम परिवर्तन गरी ५२ करोड ४८ लाख ९२ हजार बनाइएको छ ।
२०७९ भदौ २० गतेबाट निर्माण शुरु भएको फोहोर मैला व्यवस्थापन केन्द्र आगामी भदौमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना कार्यान्वयन ईकाईका अनुसार निर्माण कम्पनीले गोदावरीमा ८६.५३ प्रतिशत निर्माणको काम र बाँकी खरिद तथा सुरक्षाको काम गर्नुपर्ने छ । गोदावरीमा आर्थिक प्रगति ७२.३३ प्रतिशत भएको छ ।
गोदावरीमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने कार्य समयमै सम्पन्न हुने अवस्थामा पुगेपनि शुक्लाफाँटा नगरपालिकामा सुस्तगतिमा निर्माण भइरहेको छ । माघ २०८० मै निर्माण सम्पन्न हुने गरी धनगढीको रमन केएस जेभीसंग २६ बैशाख २०७९ मा सम्झौता भएको थियो । तर निर्माण कम्पनीले समयमै काम गर्न नसकेपछि आउँदो कात्तिक २८ गतेसम्मका लागि समय थप गरिएको छ ।
हालसम्म भौतिक प्रगति ७७.९३ प्रतिशत भएको निर्माण शुक्लाफाँटामा निर्माण कम्पनीले ९४.४९ प्रतिशत निर्माण र बाँकी खरिद तथा सुरक्षाको काम गर्नुपर्ने छ । शुक्लाफाँटामा आर्थिक प्रगति ४१.४१ प्रतिशत भएको छ ।
क्षेत्रीय शहरी विकास कार्यक्रम ४ स्थानीय तहमा लागु भएको धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ भने भिमदत्त नगरपालिकामा जमीनको टुंगो लाग्न नसक्दा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अलपत्र परेको छ । यस कार्यक्रम अन्तरगत चार वटै स्थानीय तहमा ड्रिनेज, मेडियन, सडक बत्ति, फुटपात सहितको शहरी सडक पनि निर्माण भइरहेको छ ।
सम्बन्धित पाेस्टहरु