अत्तरिया : सुदूरपश्चिममा चालु आर्थिक वर्ष २०८१\०८२ को २७ दिनमा १५ वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता भएका छन् । साउन १ गतेदेखि २७ गते सम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा १५ बलात्कारका घटना दर्ता भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज बिष्टका अनुसार चालु आर्थिक वर्षमा सबै भन्दा बढी कैलालीमा जबरजस्ती करणीका आठ वटा मुद्दा दर्ता भएका छन् । कञ्चनपुरमा चार वटा र अछाम, डोटी र डडेल्धुरामा एक\एक वटा मुद्दा दर्ता भएका छन् ।
यस्तै सुदूरपश्चिममा तीन वर्षको अवधिमा जबरजस्ती करणीका ६ सय ३१ मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आर्थिक वर्ष २०८०\०८१ मा दुई सय चार जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । सो अवधिमा पनि सबै भन्दा बढी कैलालीमा ८३ र कञ्चनपुरमा ४१ मुद्दा दर्ता भएका छन् । बैतडीमा २२, अछाममा १२, बझाङमा ११, बाजुरामा १० र डडेल्धुरामा १०, डोटीमा आठ, र दार्चुलामा सात मुद्दा दर्ता भएको प्रदेश प्रहरीको तथ्यांक छ ।
सुदूरपश्चिममा आर्थिक वर्ष २०७९\०८० मा जबरजस्ती करणीका १९१ मुद्दा प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा सबै भन्दा बढी कैलालीमा ८९ र त्यसपछि कञ्चनपुरमा ४० मुद्दा दर्ता भएका छन् । बैतडीमा १४, बाजुरामा ११, बझाङमा १०, अछाममा नौ, डोटीमा आठ, दार्चुलामा सात र डडेल्धुरामा तीन वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७८\०७९ मा २३६ वटा जबरजस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका थिए । सो अवधिमा पनि सबै भन्दा बढी कैलालीमा ११५ र त्यसपछि कञ्चनपुरमा ३२ मुद्दा दर्ता भएका छन् । डोटीमा २०, बझाङमा १५, बाजुरा र अछाममा १३\१३, बैतडीमा १२, दार्चुलामा नौ र डडेल्धुरामा सात वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकमा उल्लेख छ ।
प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक बिष्टले लागुऔषध र मदिरा दुव्र्यसनले गर्दा नै जबरजस्ती करणीको मुद्दा बढेको बताए । ‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, बिलासीताको चाहनाले गर्दा पनि जबरजस्ती करणी बढेको जस्तो देखिन्छ’ प्रवक्ता बिष्टले भने । जबरजस्ती करणीका मुद्दालाई न्यूनिरकणका लागि जनचेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक रहेको बिष्टले बताए । बिष्टले आफुहरुले पनि सामुदाय प्रहरी कार्यक्रम मार्फत स्थानीय स्थरमा विभिन्न जनचेतचना मुलक कार्यक्रमहरु गर्दै आइरहेको बताए । ‘जबसम्म मानिसमा सामाजिक चेतना बढ्दैन, तबसम्म जबरजस्तीका करणीका मुद्दामा कमी आउँदैन,’ उनले भने । किशोर र किशोरीहरुमा पनि जनचेतनामुलक कार्यक्रमहरु गर्ने सकियो भने घटनामा कमी आउन सक्ने उनको भनाई रहेको छ ।
मदिरा र लागुऔषधलाई केही हदसम्म नियन्त्रण गर्न सकियो भने अपराध घटाउन केही मदत पु्ग्ने उनले बताए । अधिबक्ता गम्भीर सिंह ऐर अहिले साँच्चै बलात्कार र कृतिम बलात्कारका घटना भैरहेको बताउँछन् । ‘साँच्चै बलात्कारका घटनाहरु अहिले बढिरेहका छन् ।’ अधिवक्त ऐरले भने, ‘पहिले सहमतिमा सम्वन्ध कायम गर्ने, तर पछि बिवाह गर्न अस्वीकार गरेपछि बलात्कारको घटना दर्ता गर्ने क्रम पनि छ ।’ अधिवक्ता ऐरका अनुसार आपसी सम्वन्ध राम्रो हुने, लेनदेन पनि हुने तर पनि लेनदेन नमिलेपछि बलात्कारको मुद्धा परेका घटनाहरु पनि छन् ।