अत्तरिया, ३१ साउन : गोदावरी नगरपालिका–२ अत्तरियाम रहेको किसान कृषि सहकारी संस्थाको नवौं साधारण सभा सम्पन्न भएको छ ।
बिहिबार साधारणसभा सम्पन्न भएको हो । सभामा १ वर्ष भरी भएका संस्थाको गतिविधिको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष राधा विष्ट कुँवरले गरेकी थिईन् । यस्तै सभामा संस्थाको आ व ०८०\०८१ को आय– व्यय प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्रबन्धक सुना रोकायाले २०७२ साल मा २७ जना शेयर धनीहरु मिलेर स्थापना गरी संचालनमा ल्याएको यस सहकारी संस्थामा हाल २ हजार ६ जना शेयर सदस्यहरु पुगाउन सफल भएको बताइन् ।
उनले आ व ०८०\०८१ मसान्त सम्म संस्थाले ४ करोड ३० हजार ९ सय ४४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको साथै संस्थाको कुल शेयर पूँजि ५० लाख ३ सय रहेको बताईन् । यस्तै जगेडा कोषमा २१ लाख ९९ हजार २४७ रुपैँया रहेको साथै ३ करोड ७६ लाख १ हजार ४५३ रुपैयाँ कर्जा तर्फ लगानी गरेको बताइन् । साथै यस आर्थिक वर्ष निक्षेपमा २ करोड ४८ लाख ४५ हजार ३१ रुपैयाँ बचत संकलन रहेको जुन गत वर्षको भन्दा २९ लाख ५७ हजार ९५६ रुपैयाँ बृद्धि भएको प्रबन्धक रोकायाले बताइन् ।
त्यसै गरी संस्थाले यस आर्थिक वर्षमा १ लाख ८१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले विशेष गरी महिलाहरुको जीवनस्तर उकास्न सहजीकरणको लागि सहकारीमा आबद्ध सदस्यहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ भने कृषिलाई पहिलो प्राथमिकता दिदै आइरहेको छ ।
कार्यक्रमको संचालन मीडियाकर्मी शारदा फुलाराले गरेकी हुन । संस्थाकी उपाध्यक्ष शान्ति देवी कामीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । संस्थाकी अध्यक्ष राधा विष्ट कुँवरको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी थिए । कार्यक्रमको विशिष्ठ अतिथ्यमा सूर्य ज्योति लाईफ इन्स्योरेन्स अत्तरिया शाखा प्रबंधक नरेश भट्ट, नेपाल महिला सशक्ती उद्यम विकासका अधिकृत सन्तोष पराजुली रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले सबैका लागि एक र एकका लागि सबै भन्ने सहकारीको सिद्धान्त अनुसार काम गर्नुपर्ने बताए । ‘यो कृषि सहकारी संस्था भएकोले कृषि ऋणको सदुपयोग गरेर आम्दानी गर्ने र संस्थालाई पनि बुझाउने ऋणीहरूको कर्तव्य हुन आउँछ ।’ उनले भने, ‘पञ्चपितामा कृषि पनि आउँछ । त्यसैले कृषिलाई सबैले सम्मान गर्नुपर्छ ।’
सञ्चालक समिति सहकारीको सर्वोत्कृष्ट निकाय भएकोले सहकारीलाई हिजोभन्दा अझै राम्रो बनाउन कोसिस सञ्चालक समितिहरुले मिलेर गर्नुपर्ने हुन्छ साथै सबै शेयर सदस्यहरूले पनि यसमा सहयोग गर्नुपर्छ । कर्मचारीहरूको भूमिका पनि महत्वपूर्ण नै रहने बताए ।
सम्बन्धित पाेस्टहरु