गोदावरी नगरका ‘विराना गाउँ’

कैलाश जोशी
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडाहरुमा सबै भन्दा दुर्गम वडा १२ नम्बर पर्छ । वडा नम्बर १२ मा यस्ता गाउँ छन् जहाँ पुग्न हिडेर ४ देखि ५ घण्टा लाग्छ । यातायातको पहुँच छैन् । हिउँदका महिना केहि दिन यातायात सञ्चालन भए पनि बाह्रै महिना सञ्चालन हुन सकेको छैन् । नगरपालिका भनेपछि आधारभूत सेवा सुविधा सबै पुगेको हुनुपर्ने हो । तर, १२ मा आधारभूत सुविधा सबै ठाउँमा पुग्न सकेको छैन् ।
वडा नम्बर १२ को दुर्गम पहाडका गाउँ सिम, चाप, खोली चाप, चाप सल्ली, नायल लगायतका गाउँमा आधारभूत सुविधा पुग्न नसकेको हो । एक बर्ष पहिले स्थानीयहरुको लामो प्रतिक्षापछि विद्युत सेवाका लाईन पुगे पनि घरमा अझै जडान हुन सकेको छैन् । नागरिकहरुको घरमा लिफ्ट प्रविधिबाट पानी पुगाउने लक्ष्य भए पनि पुग्न सकेको छैन् । लिफ्ट प्रविधिबाट नागरिकहरुको घरमा पानी पुगाउने वहुबर्षीय योजना निर्माणकै क्रममा रहेको छ ।
कृषि र पशुपालनमा निर्भर सिम र चापका नागरिकहरुले नगरपालिकाको सेवा लिन दुई दिन लाग्न गरेको गुनासो अझै रहेको छ । कोलमुडाबाट हिडेर चाप बस्तीमा पुग्न ३ घण्टा लाग्ने गरेको स्थानीयहरुको भनाई रहेको छ । ‘२÷३ बर्ष यता सिम, चापमा पहिलेको तुलनामा विकास भए पनि यातायातको सुविधा भरपर्दा नहुँदा समस्या छ’, स्थानीय अमर रावतले भने । ‘डोजरले खनिएको सडकलाई स्तरोन्नति गर्न सकेमा यहाँका नागरिकहरुलाई सबै भन्दा ठूलो राहत हुन्थ्यो ।’ स्थानीय सरकार आएपछि विकासको अनुभूति गरेका चाप, सिम, नायलका बासिन्दाले अन्य समयमा पानीको समस्या टरे पनि चैत, बैशाख महिनामा भने समस्या नै हुने गरेको छ ।
गोदावरी–१२ को चुरे क्षेत्रमा पहिलेको तुलनामा विकास भएको स्थानीय सिर्जना बुढाले बताईन् । ‘अहिले स्वास्थ्य चौकी देखि विद्यालय सञ्चालनमा छ’, उनले भनिन् । ‘अन्य पूर्वाधार पानी विद्युत लगभग नागरिकहरुको घर–घरमा पुग्दैछ । सबै भन्दा यहाँको समस्या सडक नै भएको छ ।’
सडकको पहुँच पुगे पनि बर्खायाममा ठप्प हुने गरेको छ । यस बर्ष सडक सरसफाईका लागि ठेक्का भए पनि काम सुरु हुन सकेको छैन । सडक सरसफाईका लागि १२ लाखको ठेक्का भएको छ । ‘गोदावरीको वडा नम्बर १२ कृषि र पुशपालना तथा मौरी व्यवसायीका लागि राम्रो ठाउँ हो’, वडा नम्बर १२ का वडा अध्यक्ष भिमबहादुर खड्काले भने । ‘सडक निर्माणका लागि स्थानीय सरकारको बजेटले केहि हुँदैन । त्यसका लागि प्रदेश र संघ सरकारका ध्यान जानुपर्दछ । स्थानीयहरुले बजारका अत्तरिया, धनगढी लगायतका सहरमा आउनुपर्ने हुँदा त्यसका लागि सडकको स्तरोन्नति अपरिहार्य भएको वडा अध्यक्ष खड्कको भनाई रहेको छ । ‘भौगोलिक हिसावले चाप, सिम, सल्ली, र नायल चुरे क्षेत्रमा पर्ने भएको हुँदा थोरै पानी पर्दा पनि खनिएका सडकमा धेरै नोक्सान हन्छ’, उनले भने ‘त्यसका लागि कम्तीमा पानी नालीको निकास सहितको सडक बन्न आवश्यक देखिन्छ ।’
स्थानीय सरकार नहुनु भन्दा पहिले सामान्य बिरामी हुँदा मालाखेती, अत्तरिया पुगाउनुपर्ने बाध्यता थियो अहिले त्यो बाध्यता हटेको वडा अध्यक्ष खड्काले बताए । शिक्षा क्षेत्रका लागि विद्यालयमा नगरबाट भए पनि पदपूर्ति गरेको उनले बताए । विद्यालयमा नगर शिक्षक ३ जना रहेका छन् । गोदावरी १२ को चुरेका बस्तीमा घरहरु पनि टाढा–टाढा रहेका छन् । त्यसले गर्दा सरकारको लगानी पनि धेरै लाग्ने गरेको छ । सिम, चाप, सल्ली र नायल गरी ८ सय जना त मतदाताहरु नै रहेका छन् । यी बस्तीमा, मकै, अमिलो जातका फलफूलहरुको उत्पादन राम्रो हुन्छ । सिँचाइको सुविधा कम भएको हुँदा अन्य खाद्यान्न धान, गहुँ कमै मात्रामा उत्पादन हुने गरेको छ । घरहरु पहिले काठ र खरले बनाएका हुन्थ्य भने अहिले काठ र जस्तापाताले निर्माण गरिएका छन् । हरेकले भैसी र बाँख्रा पालेकै छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.