कहिले होला कोलमुडा–चाप सडकको स्तरोउन्नति ?, सरसफाईमै सकीन्छ बर्षेनी लाखौँ रुपैयाँ

अत्तरिया : गोदावरी नगरपालिकाको वडा नम्बर १२ का केहि बस्ती यस्ता छन् । जहाँ हिडेर जान पाँच घण्टा सम्म समय लाग्छ । वडाका मुख्य सडक समेत स्तरोउन्नति हुन सकेको छैन् । गौरी देखि कोलमुडा सम्मको सडक ग्राभेल मात्र भएको छ । कोलमुडा चाप–सडकको अवस्था वेहाल रहेको स्थानीयहरु बताउने गरेका छन् । गोदावरीमा एशियाली विकास बैंकको ऋण सहयोगमा १६ किलोमिटर सडक निर्माण भए पनि वडा नम्बर ११ र १२ सम्म पुग्न सकेन् ।
विकासको अवस्था हेर्दा तराईको वासिन्दा हुँ भन्न पनि अप्ठ्यारो लाग्ने गरेको गौरीमा घर भएका स्थानीय नवलसिंह रावतले बताए । ‘वडाको पहाडको कुरा छोडौँ । तराईका गाउँको अवस्था पनि जर्जर रहेको छ’, उनले भने । ‘हिउँदका महिना हालेको ग्राभेल बर्खामा कहाँ जान्छ ? चुरेका फेदमा पनि गाउँ भएको हुँदा त्यहाँको विकास गर्न सरकारले ठूलो लगानी गर्नुपर्दछ । तव, मात्र यहाँ केहि हुनेछ ।’ वडा नम्बर १२ भौगोलिक दृष्टिकोणले पनि धेरै क्षेत्रफल भएको क्षेत्र हो । यहाँको सम्भावनालाई सरकार चिन्न नसकेको स्थानीयहरु बताउने गरेका छन् । नगरको मुख्य केन्द्र अत्तरियाबाट कोलमुडा सम्म यातायात सञ्चालन भए पनि त्यो भन्दा अगाडि सडक बन्न सकेको छैन् । डोजरले सडक खनिए पनि स्तरोउन्नति हुन सकेको छैन् । केहि बर्ष अगाडि सामुदायिक वन र तत्कालिन संघीय सांसद दीर्घराज भाटको सांसद विकास कोषबाट सडक खनिएको हो । त्यसपछि हरेक बर्ष सडक सफा गर्नका लागि नै लाखौँ रुपैयाँ खर्च हुने गरेको छ । यस बर्ष मात्र नगरपालिकाले सडक सरसफाई अर्थात विभिन्न ठाउँमा गएको पहिरो र भत्किएको ठाउँ बनाउन नगरले १२ लाखमा ठेक्का लगाएको छ । बुधबार बाट सडक सफाई गर्ने सुरु भएको हो । हिउँद लाग्यो सफा ग¥यो बर्खामा बगाउने गरेको छ ।


चापवासिका दुख सरकार सम्बोधन गर्न नसकेको स्थानीय शेरबहादुर बुढाले बताए । ‘बर्खामा ठूलो बिरामी भएमा स्टे«चर या पिठ्युमा बोकेर अस्पताल पुगाउनुपर्छ’, उनले भने । ‘तर, पनि सरकार कोलमुडा–चाप सडकको स्तरोउन्नति गर्न सकेको छैन् ।’ कम्तीमा पनि नाली सहितको सडक भए पनि चाप, चाप सल्ली सिमका नागरिकहरुले यति धेरै दुख नपाउने बुढाको भनाई रहेको छ । वडा नम्बर दुर्गममा हुँदा पनि नगरपालिकाको प्राथमिकतामा पर्न नसकेको उनको गुनासो रहेको छ । ‘नगरपालिकाको वासिन्दा हुँ भन्दा पनि लाजमान्नुपर्ने अवस्था छ’, अर्को स्थानीय फखिरसिंह रावतले भने । ‘अरु कुरा नभए पनि कम्तीमा वाह्रै महिना सञ्चालन हुने सडक त सरकार बनाउनुपर्यो । राज्यलाई कर हामीले पनि बुझाएका छौँ । तर, हामीले गाउँपालिकाको जस्तो सेवा सुविधा पनि पाउन सकेको छैनौँ ।’ यसमा स्थानीय सरकार गम्भिर बन्नुपर्ने उनको माग रहेको छ । कोलमुडा–चाप सडक निर्माणका लागि प्रदेश र संघीय सरकारलाई गुहार्दा पनि प्राथमिकता दिन नसकेको गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भीमबहादुर खड्काले बताए । ‘स्थानीय सरकारको बजेटले मात्र स्तरोउन्नति सम्भव देखिदैन्’, वडा अध्यक्ष खड्काले भने । ‘प्रदेश देखि संघीय सरकारको मन्त्रालय दाउँदा सम्बोधन हुन सकेको छैन् ।’ यस सडकमा दुई वटा पुलहरु निर्माण गर्नुपर्ने छ । गनगढी खोलामा पुलका लागि ठेक्का भईसकेको छैन भने मछली खोलामा पुल निर्माणको टुङगो छैन् । वडा नम्बर १२ मा अन्य वडाका तुलनामा विकासका पूर्वाधारहरु कमै मात्रामा भएको स्वंयम वडा अध्यक्ष नै बताउने गरेका छन् । ‘नगरको १२, ११ र १० मा विकासका पूर्वाधारहरु कमै मात्रामा निर्माण भएका छन्’, उनले भने ‘१२ मा ५ किलोमिटर भन्दा माथि कालोपत्रे हुन सकेको छैन् ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.