दस वर्षसम्म बनेन डडेल्धुरामा पुल

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने पुल एक दशकसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ती पाउन थालेका छन् ।

दुई गाउँपालिकालाई जोड्नका लागि पक्की पुल निर्माण हुन थालेको एक दशक हुन थालेको छ तर पुलबाट मोटर चढेर आवतजावत गर्ने स्थानीयको चाहना अझै पूरा हुन सकेको छैन ।

गन्यापधुरा गाउँपालिका–३, सकायललाई नवदुर्गा गाउँपालिका–३, डाँडावन जोड्ने सकायल खोलामा निर्माणाधीन पक्की पुल २०७२ सालदेखि अलपत्र अवस्थामा रहेको छ । करिब दुई करोड ५० लाख रुपियाँ लागत रहेको पुलको निर्माण दुई वर्षभित्र गरिसक्ने गरेर डडेलधुराकै निर्माण कम्पनी राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनी जेभीलाई ठेक्का दिइएको थियो ।

ठेक्का सम्झौता भएको १० वर्ष पुग्दासम्म करिब ७५ प्रतिशत काम मात्र भएको सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्म पुल निर्माणका लागि निर्माण कम्पनीको चार पटक म्याद थप गरिएको छ । काम भए अनुसारको भुक्तानी पनि निर्माण व्यवसायीले बुझेको उनले बताए । करिब एक वर्षदेखि निर्माण कार्य पूर्ण रूपमा ठप्प रहेको छ । अब तिहारपछि काम सुरु गर्ने निर्माण कम्पनीले जानकारी गराएको उनले बताए । पुल अगाडिको सडक बनाउन जग्गा विवाद पनि रहेको उनको भनाइ छ । बर्खाका बेला खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न समस्या हुने गरेको स्थानीय योगेन्द्र देउवाले बताए ।
पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटक पटक आग्रह गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए ।। बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसहितको टोलीले स्थलगत अनुगमन गरेर पुल निर्माणका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन गरेको छ ।

पुल निर्माण पूरा गर्न पटक पटक म्याद थप भएको यो थप गरिएको अवधिमा पनि निर्माण नभए कम्पनीलाई कारबाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख भट्टराईको भनाइ छ । पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले लागत पुनरवलोकन भएकाले काममा ढिलाइ भएको बताउनुभयो । निर्माण व्यवसायी गुरुङले तत्काल काम सुरु गरेर सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा पुल निर्माण पूरा हुने दाबी गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.