लागुऔषधको कारोबार बढ्दो, सुदूरपश्चिममा एक सातामै २१ पक्राउ

डोटी : सुदूर पश्चिममा प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा शुक्रबार चार जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारीअनुसार कैलालीको भजनी नगरपालिका-५ लालबोजीबाट सोही नगरपालिका-२ रजबाराका २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका-४ सिमथरीका २१ वर्षीय कुसल गिरीलाई १ ग्राम ७४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै धनगढी उपमहानगरपालिका-१ त्रिवेणीघाटबाट सोही नगरपालिका-२ बैयाबेहडी बस्ने १८ वर्षीय एक किशोरलाई अवैध लागुऔषध स्पास नामक १६ ट्याबलेटसहित पक्राउ गरिएको छ । कैलालीकै बर्दगोरिया गाउँपालिका-४ मुडा बजारबाट मोहन्याल गाउँपालिका-२ पन्डोनका २३ वर्षीय सागर शाही र १७ वर्षीय एक किशोरलाई पनि अवैध लागुऔषध ट्रमाडोल १६५ क्याप्सुल, अविल १४३ क्याप्सुल र अन्य सामग्रीहरु तथा नगदसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र जोशीले जानकारी दिए ।

लागुऔषधको अवैध कारोबारमा संलग्न भएको आरोपमा बिहीबार प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ को ५ नम्बर गल्लीबाट भारत उत्तर प्रदेशको रामपुर हाजिरनगरका २६ वर्षीय रिहान अली र २८ वर्षीय गुफरान अलीलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुको साथबाट भारतीय नम्बर यूपी २२ एडी ७२६२ को मोटरसाइकल र २८.३५ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । कात्तिक ३ गतेदेखि शुक्रबार रातिसम्म प्रहरीले विभिन्न स्थानबाट उल्लेखित चारसहित २१ जनालाई लागुऔषध कारोबारको आरोपमा पक्राउ गरेको छ । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेकामध्ये एक महिला र २० पुरुष रहेका छन् । उनीहरुसँग भएको १८ ग्राम चरेश, ३५.७४० ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु र विभिन्न प्रकारका लागुऔषधका ३२४ क्याप्सुल बरामद भएको छ ।

अभिभावकहरुले आफ्नो छोराछोरीप्रतिको जिम्मेवारी पूरा नगरेका कारण लागुऔषधका सेवनकर्ताहरुको संख्या बढ्दै गएको बताउँछन् जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्मा । उनी भन्छन्, ‘आफ्ना छोराछोरी कहाँ गइरहेका छन्, के गरिरहेका छन् भन्ने कुराको ख्याल राख्नु जरुरी छ, तर अभिभावकहरुले वास्ता गर्दैनन् ।’

अभिभावकलाई सम्झाउन खोज्यो भने उल्टो सम्झिने गरेको प्रहरी उपरीक्षक शर्माको अनुभव छ । बेरोजगारीका कारण पनि लागुऔषधको कारोबार बढेको शर्मा बताउँछन् । अधिवक्ता रणबहादुर सिंह पनि परिवारको लापरबाहीकै कारण लागुऔषध दुर्व्यसनीका घटना बढेको बताउँछन् । पछिल्लो समयमा अदालतहरुमा लागुऔषधका मुद्दाहरु बढ्दो क्रममा रहेको सिंहको भनाइ छ । उनी लागुऔषधको कारोबार बढ्नुमा नेपाल(भारत खुला सिमानालाई पनि कारण मान्छन् । सेवानिवृत्त प्रहरी नायब उपरीक्षक कृष्णानन्द भट्टको बुझाइमा विलासिताका वस्तुहरुको उपभोग गर्ने लालचले लागुऔषधको कारोबार गर्ने हदसम्म मान्छे पुग्ने गरेका छन् । परिवार र विद्यालयले नैतिक शिक्षा सिकाउन नसक्दा पनि लागुऔषध सेवन र कारोबार बढ्न थालेको उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.