नागरिकता पाएपछि सेवाग्राही दङ्ग

बैतडी : सोमबार जिल्ला प्रशासन कार्यालय बैतडीमा एक सय जनाभन्दा बढी सेवाग्राहीको भिड लागेको थियो । भित्र दुई जना प्रमुख जिल्ला अधिकारी एकैसाथ धमाधम नागरिकतामा हस्ताक्षर गर्दै सेवाग्राहीलाई नागरिकता प्रदान गर्दै थिए । नागरिकता जारी गर्न सहायक प्रमुख जिल्ला अधिकारी नभएपछि सरुवा भई जाने र आउने प्रमुख जिल्ला अधिकारीले स्वागत र बिदाइसँगै सेवाग्राहीलाई एक मिनेट पनि सेवा नरोकेको दृश्य हो यो ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको बैतडीबाट सरुवा भएपछि नयाँ प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय सोमबार बैतडी पुगेका हुन । प्रजिअको सरुवा भएपछि एक दिन सबै कार्य क्षेत्र छाडेर जाने चलन भए पनि नागरिकता जारी गर्ने सहायक प्रमुख जिल्ला अधिकारी नभएपछि बैतडीमा पहिलो पटक सरुवा भएर जाने र आउने प्रमुख जिल्ला अधिकारीले एउटै कार्यकक्षमा बसेर सेवाग्राहीलाई नागरिकता जारी गरिएको हो ।

“११ महिना प्रजिअ भएर बस्दा सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा आठ महिना एक्लैले नागरिकता जारी गरेँ,” बैतडीबाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले भने “चार दिनअघि नै सरुवाको पत्र आएको थियो । नागरिकता लिने सेवाग्राहीको भिडका कारण जिल्ला छाड्न सकिएन ।” थप्दै उनले अगाडि भने, “रिटायर्ड हुन अब एक वर्ष बाँकी छ । सरकारले दिएको जिम्मेवारी र बैतडीको मायाले एक मिनेट पनि कार्यकक्ष नछाडी बसेको हुँ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.