चुरेका किसानको आम्दानीको स्रोत सुन्तला, कमाउन्छन बार्षिक लाखौँ रुपैयाँ

अत्तरिया : कैलालीको पहाडी भेग चुरेका किसानहरु सुन्तला खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन् । आजभोली किसानहरु बारीका सुन्तला बिक्रि गर्न व्यस्त छन् । सडक सञ्जाल जोडिएपछि किसानहरु बारीमै सुन्तलाको उचित मुल्य पाउन थालेका छन् । बारीमै ८० रुपयाँ प्रतिकिलो सुन्तला बिक्रि गर्न थालेका किसानहरु अन्य खेती भन्दा सुन्तलाबाट राम्रो आम्दानी गरिरहेका छन् । कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का सुरेन्द्र धामी पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन् ।
३७ बर्षीय धामीले ५ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तला खेती गरेका छन । सुन्तलाबाट धामी बर्सेनि ८ देखि १० लाख रुपैयाँ सम्म आम्दानी गरिरहेका छन् ।
पुख्र्यौली घर दार्चुला भई ७ बर्षअघी कैलालीको चुरे झरेका उनी यस बर्षपनि १ सय कुन्टल सुन्तला बिक्रि गर्ने तयारीमा छन् । धनगढी तथा महेन्द्रनगरबाट आउने ब्यापारीलाई अहिले उनी खेतमै ८० रुपयाँ प्रतिकिलो सुन्तला बिक्रि गरिरहेका छन् । खेती गरिसकेपछि बर्षेनी लगानी गर्न नपर्ने सुन्तला खेतीमा उनी सन्तुष्ट छन् । आफुसगं भएको ५ रोपनी जग्गामा सुन्तला खेती गरेका उनी घर खर्च चलाएर केही रकम बचत गर्दै आएको बताउछन् ।
बझाङबाट कैलाली झरेका रामबहादुर धामी पनि सुन्तला खेतीमै व्यस्त हुन्छन् । २१ लाखमा ३ रोपनी जमिन किनेर चुरेमै बसेका राम बहादुरले पनि आफुसगं भएको सबै जमिनमा सुन्तला खेती गरेका छन् । श्रीमती हसां धामी सगैं रामबहादुर सुन्तला खेतीमा ब्यस्त छन् । गत बर्ष १५ कुइन्टल सुन्तला फलाएका उनीहरु बर्षेनी खेती बढाउँदै गएका छन् । विगतका बर्षहरुमा सुन्तलाको उचित मुल्य नपाउँदा खेतीबाट पलायन हुने चिन्तामा रहेका किसानहरु खेतमै उचित मुल्य पाउन थालेपछि दगं छन् । सुन्तलाले बजार पाएपछि उनीहरु खेती बढाउन थालेका छन् ।
सुन्तलाको हबका रुपमा चिनिने चुरेका अधिकासं किसान सुन्तला खेतीमै छन् । किसानहरु सुन्तलाबाटै आत्मनिर्भर बन्न थालेका छन् । किगतमा सडक सञ्जालको समस्याका कारण खेतमै किसानका सुनतला कुहिने गरेका थिए । सडकको सुधार भएपछि अहिले किसानहरु खेतमै प्रतिकिलो ८० रुपयाँ सम्म मुल्य पाउन थालेका हुन । किसानको उत्पादन बजारसम्म लान सहजिकरणका लागी चुरे गाउँपालिकाले सडक ग्राभेल गरेको छ । यसका साथै किसानको उत्पादनलाई भण्डारणका लागी चुरे गाउँपालिका फलटुडेमा फलफूल तथा तरकारी भण्डारण गृह निर्माण गर्ने प्रक्रियामा छ । सिमित स्रोत साधनबाटै भएपनि फलफूल र तरकारी खेतीको विस्तारमा चुरे गाउँपालिकाले विभिन्न योजना अघि सारेको छ । ‘हामीले धेरै नसकेपनि किसानहरुका लागी बेर्ना उत्पादन गरेर वितरण गर्ने गरेका छौँ’ चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले भने, ‘सिमित श्रोत साधन छ त्यसैबाट काम गरिरहेका छौँ, अव किसानहरुको फलफूल र तरकारी भण्डारणका लागी भण्डारगृह बनाउने गृहकार्य छ त्यो चाँडै शुरु हुन्छ । ठुला अनुदान दिने प्रदेशले हो । तर प्रदेश वास्तविक किसान भन्दा देखावटीवालालाई अनुदान दिन्छ, काम गर्नेलाई दिए अझँ उत्पादन बढ्थ्यो, त्यता प्रदेशको ध्यान छैन ।’
पछिल्लो समय सडक सञ्जाल सगंको पहुँच बढ्न थालेपछि किसानहरु खेतीलाई बिस्तार गरिरहेका छन् । तर केही किसानहरु तालिम अभावमा लगानी अनुसारको प्रतिफल पनि पाइरहेका छैनन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.