अत्तरिया, ११ पुस : नेकपा (एमाले) गोदावरीले अत्तरिया उद्योग बाणिज्य संघको जारी बिबाद समाधानको लागि अध्यक्ष कल्याण सिँह बोहराको राजीनामा माग गरेको छ । नगर कमिटी अध्यक्ष सन्तोष सिँले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै अहिले देखिएको बिबाद समाधान को लागि अध्यक्षले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताएका छन् ।
साथै संघमा देखिएको बिबाद समाधानको लागि दबाब दिन नैन सिँ कार्कीको संयोजकत्वमा ७ सदस्यीय समिति समेत एमालेले बनाएको छ । एमालेले उद्योग वाणिज्य संघको पूर्णता तथा आगामी रणनीति तय गर्नका लागि दबाब समिति पनि गठन गरेको छ । अघिल्लो बर्ष सञ्चालन भएको महोत्सवमा टिकट विवादपछि संघ विवादित छ ।
एमाले द्वारा जारी ‘विज्ञप्तिमा भनिएको छ ‘राजीनामा दिने र राजीनामा नदिने दुवै पक्ष बराबर दोषी रहेको ठहर गर्दै संस्थालाई अनिर्णयको बन्दी बनाउने अध्यक्ष लगायत बाँकी सदस्यले पनि यथाशीघ्र राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने तथा यस कार्यसमितिले उद्योगी, व्यापारी वर्गको हकहित र संरक्षण गर्न नसक्ने निष्कर्ष निकालियो ।’
एमालेले नैन सिंह कार्कीको संयोजकत्वमा टिकाराम आचार्य, गणेश महरा, रवीन्द्र रोक्का मगर, ईश्वरा आचार्य, विशाल बडूवाल र बालकृष्ण भट्टराई सदस्य रहेको दबाब समिति गठन गरेको जनाएको छ ।