परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा द्वारा चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास

अत्तरिया : कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास गरिएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको विशेष कार्यक्रमबीच शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रममा परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केबलकारले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन् । उनले भनिन्, सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । यो केवलकारले यहाँको पर्यटन प्रवद्र्धनसँगै समग्र समृद्धिमा टेवा पु¥याउनेछ ।’
डा. देउवाले आयोजनालाई समयमै सम्पन्न गर्न सबैलाई आवश्यक सहयोगको अपिल गर्दै सुदूरपश्चिममा पर्यटन पूर्वाधार विकासमा थप लगानी गर्न आग्रह गरिन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारको कमी रहेको भन्दै यस्ता परियोजनामा निजी क्षेत्रको लगानी अपरिहार्य भएको बताए । उनले वन विकासलाई बाधक होइन, सहयोगी बनाउन स्वदेशी स्रोतको उपयोगमा जोड दिए ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यो परियोजनाले साहसिक, धार्मिक, र मनोरञ्जन पर्यटनलाई बढावा दिने बताउँदै प्रदेश सरकारले लगानीकर्तालाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । जालपादेवी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो परियोजनाले नेपालको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले पर्यटन पूर्वाधारमा लगानीले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, र आर्थिक समृद्धिमा योगदान पु-याउने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.