दाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बुटवलको सुप्रिम सहकारीको बचतकर्ताको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आइतबार १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतको आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर बाहिरिँदै लामिछानेले अदालतप्रति आभार व्यक्त गरे। ‘मेरो अहिलेलाई भन्नुपर्ने केही छैन। भन्नुपर्ने बेला आउँदा भन्छु, अहिलेलाई न्यायालयप्रति आभार व्यक्त गर्दछु’, उनले भने, ‘जति पनि देश–विदेशबाट मेरो न्यायका लागि आवाज उठाउने सम्पूर्णलाई धेरै–धेरै धन्यवाद।’
जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई धरौटीमा छाड्न आदेश दिएको हो। उनी यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्कीमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटेका थिए । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।