
अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा पहिलो पटक प्रदेश स्तरिय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी गर्ने भएको छ । यही माघ २६ गते देखि ३० गते सम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको महोत्सव लाग्ने स्थलमा मेला सञ्चालन हुने भएको हो ।
कृषि विकास निर्देशनालय डोटीका महानिर्देशक खगेन्द्रप्रसाद शर्माका अनुसार प्रदेश सरकारले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धी देखाउन मेला आयोजना गरिन लागेको हो । अहिले प्रदेश सरकारले केही गरेन भन्ने जनगुनासो सुनिन थालेकाले त्यसलाई चिर्न पनि मेला आयोजना गरिएको उनले बताए ।
मेलामा नौ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनी गरिने उनले बताए । प्रदेशमा भएका स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने मेलाको मुख्य उदेश्य रहेको उनले बताए । कृषि व्यवसायमा लागेका किसानहरुलाई प्रोत्सान दिन मेलाले मदत पुग्ने उनले बताए । कृषि पेशामा संग्लन युवाहरु वैदेशिक रोजगारीका लागि जान थालेका युवाहरुलाई रोक्न कृषिमा आकर्षण गर्नेका लागि मेलाको आयोजना गरिएको उनको भनाइ छ ।
मेलामा हरेक दिन कृषि सम्बन्धी नविनतम प्रविधिको प्रदर्शन गरिनुका साथै विज्ञसंग मेला अवधि भर कृषकलाई राखेर बहस र छलफल गरिने महानिर्देशक शर्माले बताए । मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने अपेक्षा गरिएको शर्माको भनाइ छ ।
मेला सञ्चालनका लागि कृषि विकास निर्देशनालयले ३५ लाख बजेट छुट्याएको महानिर्देशक शर्माले बताए । मेलामा ८८ वटै पालिकाका किसानलाई सहभागी बनाउने लक्ष्य लिएको उनले बताए । मेलाले गर्दा किसान र व्यापारीहरुलाई जोड्न ठूलो मदत पुग्ने उनले बताए । मेलाको माध्यबाट किसानहरुलाई बजारीकरण गर्ने समेत सहज हुने उनको भनाइ छ । यो मेला सुदूरपश्चिम प्रदेशको कृषि, पशुपन्छी, र मत्स्य क्षेत्रको सुधार र सम्बृद्धिका लागि महत्त्वपूर्ण कदमी भएको मेला संयोजक तथा कृषि विकास निर्देशनालयका निर्देशक शर्माले बताए । उनले भने, ‘स्थानीय उत्पादनहरूप्रति ध्यानाकर्षण गर्दै आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा योगदान पु¥याउनेछ । हाम्रो प्रदेशमा कृषि क्षेत्रको अपार सम्भावना छ । यो मेलाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र कृषकहरूको आम्दानी वृद्धि गर्ने अवसर सिर्जना गर्नेछ ।’
मेलामा एक सय ५० स्टल राखिने र सवै स्टल कृषकलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । मेला सञ्चालनमा लागि दुई वटा मुल समिति र नौ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
विभिन्न स्थानीय तह र संघ संस्थासंग मिलेर थप श्रोतको व्यवस्थापन गर्ने कार्य भइरहेको कृषि विकास निर्देशनालय डोटीले जनाएको छ । मेलामा विभिन्न विधाका कृषिकलाई प्रमाण पत्रसहित सम्मानित गरिने छ ।
कृषि विकास निर्देशनालय, डोटीका प्रचार प्रसार संयोजक राजेन्द्र बम भने, ‘यस प्रदर्शनीमार्फत कृषकहरूले रैथाने तथा स्थानीय उत्पादनहरू हेर्न, सिक्न र व्यापार गर्न पाउनेछन्। साथै, कृषि, पशुपन्छी तथा मत्स्य विकास क्षेत्रका समसामयिक विषयमा विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर समेत प्राप्त हुनेछ ।’
