राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया, २६ माघ : गोदावरी नगरपालिका अत्तरियामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानले वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न भएको हो ।
लोक सांस्कृतिक प्रतिष्ठानका संस्थापक अध्यक्ष लिलाधर बास्कोटाको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी विष्ट रहेकी थिईन् । कार्यक्रममा विशिष्ठ अतिथिमा पूर्व गेटा गाविस अध्यक्ष सन्तबहादुर कार्की रहेका थिए ।
प्रमुख अतिथि सांसद विष्टले हाम्रो संस्कृति रहेन भने संस्कार नरहने हाम्रो संस्कृति संरक्षण गर्न आवश्यक रहेको बताउँदै राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको प्रयास सराहनीय रहेको बताईन् । उनले संस्कृति, भेषभूषा र कलाको जगेर्नाका लागि सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइन् । साथै प्रदेश सरकार पनि यसको संरक्षणमा निरन्तर लागि परेको बताईन् ।
सभामा लोक सांस्कृतिक प्रतिष्ठानले आफ्नो वार्षिक गतिविधि वर्षभरि सम्पन्न कार्यक्रमहरू तथा आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाले संस्थाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै २०५८ सालमा राष्ट्रिय लोक सांस्कृतिक संघ मार्फत स्थापना भएको यस प्रतिष्ठानले कैलालीको गोदावरी नगरपालिकामा छुट्टै पहिचान बनाउँदै २०७५ सालमा विधिवत् रूपमा दर्ता भएको बताए ।
उनले संस्थाले प्रदेशस्तर देखि राष्ट्रियस्तर सम्म लोक सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको साथै लोपोन्मुख मौलिक बाजागाजा, भेषभूषा, र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा निरन्तरता दिँदै आइरहेको बताए । अध्यक्ष बास्कोटाले आगामी दिनहरुमा प्रतिष्ठानले देशभरका ७७ वटै जिल्लाका मौलिक संस्कृतिहरू उजागर गर्दै, प्रदेश–प्रदेश स्तरमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताए । यसले देशको सांस्कृतिक विविधताको प्रवद्र्धनसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.