क्याप्टेन वेद उप्रेतीको पायलट प्रेम उपन्यास सार्वजनिक

अत्तरिया, २६ माघ : क्याप्टेन वेद उप्रेतीको नयाँ कृति ‘पायलट प्रेम’ को शनिबार धनगढीमा विमोचन गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखकका आमा सरस्वती उप्रेती लगायतकाले संयुक्त रूपमा उपन्यासको विमोचन गरेको हो ।
क्याप्टेन उप्रेतीले आफ्नो १३ औं कृतिको रूपमा पायलट प्रेम उपन्यास लेखेको हो । यस उपन्यासभित्र पाइलटका चुनौतीपूर्ण जीवन, उतारचढाव, रोमान्सका कुराहरू समेटिएको उनले बताए । उपन्यासभित्र ९० प्रतिशत वास्तविक कथा समेटिएको उनले जानकारी दिए । यसैगरी, १० प्रतिशत काल्पनिक कुराहरू राखिएका छन् । उनले भने, यो उपन्यास पाइलट अध्ययन गर्ने विद्यार्थीलाई मार्गदर्शनसमेत हुने छ ।’ उप्रेतीले उपन्यासभित्र समेटिएका कथा आफ्नोभन्दा पनि अरूको रहेको बताए ।
पुस्तकमाथि समीक्षा गर्दै कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले उपन्यासको बाहिर पायलट प्रेम भनिए पनि भित्र जीवनवादी र आशावादी उपन्यास रहेको बताए । उनले उपन्यासभित्र विभिन्न किसिमको प्रेमका व्याख्या गरिएको उल्लेख गर्दै प्रेममा ब्रेकअप भएमा निराश हुन नहुने सन्देश उपन्यासले दिएको उल्लेख गरे । लेखकले दार्शनिकतामा बग्दै आशावादीका मोटिभेसनल कुरा, प्रकृति प्रेम र वियोगका कुराहरू समेटेको भट्टले बताए ।
अर्का टिप्पणीकर्ता कलमराज जोशीले लेखक क्याप्टेन उप्रेतीले जहाजको उडानमात्रै नभएर शब्दको उडान पनि उपन्यासमा भरेको उल्लेख गरे । उनले जीवनलाई बहुआयामिक तरिकाले अगाडि बढाउन उपन्यासले सन्देश दिएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.