विपिन नछुट्दै हमासले भन्यो, अब बन्धक रिहा रोक्छौँ

अत्तरिया : नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ। इजरायलले युद्धविराम सम्झौता उल्ल‌ंघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाडिने बताएको हो।

हमासले विज्ञप्ति जारी गरी भनेको छ, ‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रु (इजरायल) ले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना गरेको देखेको छ।’ यस उल्लंघनमा उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ पनि एक रहेको हमासले उल्लेख गरेको छ। यसैगरी हमासले इजरायलले गाजापट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि लगाएको छ। इजरायलले भने यस विषयमा अहिलेसम्म केही भनेको छैन।

युद्धविराम सम्झौताअनुसार हमासले आगामी शनिबार बन्धक रिहा गर्नुपर्ने थियो। यसअघि हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ। यसमा नपरेका विपिन जोशी रिहा नहुँदै हमासले बन्धक छाड्ने क्रम रोक्ने कुरा गरेको हो। यसैबीच इजरायलको मुख्य सहयोगी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताअनुसार आगामी शनिबार सबै बन्धक नछाडे हमासले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.