सन्त निरंकारी मण्डलको गोदावरी धाममा वृहत सरसफाई

अत्तरिया, ९ फागुन : गोदावरी धाममा वृहत सरसफाई कार्यक्रमा सम्पन्न गरिएको छ । अत्तरिया सन्त निरंकारी मण्डल शाखाले शुक्रबार गोदावरी धाम क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको हो । सन्त निरंकारी मण्डल अत्तरिया शाखा दिपक सिंहका अनुसार  धनगढी शाखा प्रमुख प्रकाश साउँद र ओलानी शाखा प्रमुख लोगबहादुर कोलीको टिम पनि सरसफाई कार्यक्रममा सहभागि रहेको थियो ।

‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा मण्डलका स्वयंसेवकहरूले धाम वरपरको क्षेत्र सफा गरेका थिए । गोदावरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा रहेको गोदावरी धामको सरसफाई आवश्यक रहेको बताउँदै २०८४ सालमा आयोजना हुने महाकुम्भको तयारीस्वरूप यो अभियान महत्वपूर्ण रहेको उल्लेख गरे ।

गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीका अनुसार धाममा सजाइने कमलका फूलहरू कुम्भ वाटिकाका रूपमा व्यवस्थित गरिँदै आएका छन् । साथै, विभिन्न देवताका प्रतीकस्वरूप एक हजार ८ सय दिव्य कलश राख्ने परम्परा रहेको छ । उनले महाकुम्भको तयारीका लागि यो पहिलो सरसफाई अभियान भएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सन्त निरंकारी मण्डल अत्तरिया शाखाका प्रमुख दिपक सिंह अत्तरिया, धनगढी, ओलानी लगायतका क्षेत्रहरूबाट स्वयंसेवकहरू सहभागी भई सरसफाई गरेको जानकारी दिए । साथै, सद्गुरु भव हर देव सिंहजी महाराजको जन्मोत्सवको अवसरमा आयोजना गरिएको यो अभियानले जीवन र जललाई स्वच्छ राख्न प्रेरित गर्ने बताए ।

त्यस्तै, सन्त निरंकारी मण्डल धनगढी शाखाका व्यवस्थापक झंकर विष्टले मण्डलले सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको बताउँदै यस्ता अभियानहरूले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । उनले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा मण्डलका पदाधिकारी, स्वयंसेवक तथा स्थानीय बासिन्दा गरी सयौँको सहभागिता रहेको थियो । सहभागीहरूले धाम परिसरमा फोहोर संकलन गर्नुका साथै वातावरणीय सचेतनासम्बन्धी सन्देशसमेत प्रवाह गरेका थिए । सरसफाई कार्यक्रममा २ सय ५० जनाको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा गोदावरी नगरपालिकाको पनि सहयोग रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.