Agni Offset Press

जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा

Aarati simant

अत्तरिया, १० फागुन : कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको चौथो दिन हुने खेलमा कोसी प्रदेशले अनुपस्थित जनाएपछि लुम्बीनी प्रदेश सिधैं अन्तिम चारमा पुगेको हो । कोशी प्रदेशको लिग विजेता बनेको र प्रेसिडेन्ट कपमा सहभागीता जनाउने भएकोले कोशी प्रदेशको गाईघाट फुटबल क्लबले अनुपस्थित हुने पत्राचार गरेपछि लुम्बीनी सिंधैं सेमिफाईनल पुगेको हो । योसँगै सेमिफार्ईनल समिकरण पनि पुरा भएको छ । लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लबले अब फाईनल प्रवेशका लागि बागमति प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाईनलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरुको सहभागीता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टीम अथवा प्रदेशको क्लबको सहभागीता प्रतियोगितामा रहनेछ । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । गौरीगंगा–११ क्लबले आयोजना गरेको यो प्रतियोगिताको पाँचौं संस्करण हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.