अत्तरियाको सक्षम पाठशालाले मनायो १० औँ वार्षिकोत्सव

अत्तरिया, १२ फागुन : गोदावरी नगरपालिका अत्तरियामा रहेको सक्षम पाठशालाले १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विद्यालयले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालयका अध्यक्ष भुवनबहादुर पाण्डेको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्याब्सन केन्द्रीय उपाध्यक्ष जगबीर थापा, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस प्रमुख डा. नरेन्द्र ऐर लगायत उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू तथा स्थानीय समाजसेवी, शिक्षक, अभिभावक लगायत बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव समारोहमा नगरप्रमुख भट्टले सक्षम पाठशालाको १० औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयले छोटो समयमा उल्लेखनीय पहिचान बनाउन सफल भएको भन्दै प्रशंसा गरे । उनले निजी तथा सामुदायिक विद्यालयहरूबीचको समन्वयलाई मजबुत बनाउन सबैको सुझावअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरप्रमुख भट्टले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय समिति, विद्यार्थी, र अभिभावकबीच सशक्त समन्वय आवश्यक रहेको औंल्याए । विद्यालय समितिले नीतिगत तथा प्रशासनिक सुधारमा ध्यान दिनुपर्ने, विद्यार्थीले सिकाइमा सक्रिय सहभागिता जनाउनुपर्ने, र अभिभावकले घरमै सकारात्मक शैक्षिक वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । यी पक्षहरूको सहकार्यले शैक्षिकस्तर वृद्धि गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने विश्वास उनले व्यक्त गरे । गोदावरी नगरपालिकामा खेलकुद विकासलाई समेत उच्च प्राथमिकता दिइएको उनले बताए । उनले गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको चौकीडाँडा सामुदायिक वनमा गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउने निर्णय गरिएको जानकारी गराए । उक्त खेल मैदानमा क्रिकेट मात्र नभई अन्य खेलहरू पनि सञ्चालन गर्न सक्ने व्यवस्था रहेको उनले उल्लेख गरे । नगरपालिकाले खेल गतिविधिहरूलाई प्रवद्र्धन गर्दै खेलकुदको पूर्वाधार निर्माणमा विशेष ध्यान दिइरहेको बताए ।


यस्तै नगरप्रमुख भट्टले दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसलाई उच्च शिक्षाको स्तरवृद्धि गर्न संस्थागत सहयोग प्रदान गरिने बताए । गोदावरी नगरपालिकाले प्राविधिक शिक्षा प्रवद्र्धनमा विशेष पहल गर्दै आएको र आगामी दिनमा समेत यो क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता उनले जनाए । उच्च शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माण र सुधारमा स्थानीय सरकारको पूर्ण सहयोग रहने बताए ।
नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै अतिरिक्त क्रियाकलापहरूलाई समेत प्रवद्र्धन गरिरहेको र युवा लक्षित कार्यक्रमहरूलाई खेलकुदसँग जोडेर अघि बढाइरहेको नगरप्रमुख भट्टले बताए ।यस्तै वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमका अवसरमा समाजसेवी युवा नेता लोकराज पाण्डेय (आगो) ले सक्षम पाठशालाको सफलताको शुभकामना व्यक्त गर्दै अत्तरिया क्षेत्रमा आइटी शिक्षाको आवश्यकता माथि जोड दिए । उनले प्रविधि शिक्षाको विस्तार नगरको विकासका लागि अनिवार्य भएको उल्लेख गर्दै संस्थागत विद्यालयहरूले समुदायको विकासमा खेलेको भूमिकाको प्रशंसा गरे ।


उनले सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयहरूबाट सिक्न आवश्यक रहेको औंल्याउँदै गुणस्तरीय शिक्षाको अभाव हटाउन सहकार्य आवश्यक रहेको बताए । साथै, नगरभित्र नैतिक शिक्षाको पुस्तक हरेक विद्यालयमा लागू हुनुपर्ने माग राख्दै यसले विद्यार्थीहरूमा नैतिक मूल्य र सामाजिक उत्तरदायित्व बढाउने विश्वास व्यक्त गरे । समारोहमा विद्यालयका प्रिन्सिपल तर्कराज भट्टराईले शिक्षाको गुणस्तर अभिवृद्धिमा विद्यालयले विशेष ध्यान दिइरहेको जानकारी दिए । उनले प्रविधिमैत्री शिक्षा प्रणालीलाई प्राथमिकता दिँदै विद्यार्थीलाई २१ औँ शताब्दीका आवश्यकता सँग मेल खाने शिक्षा प्रदान गरिरहेको बताए । छोटो समयमा सक्षम पाठशालाले प्राप्त गरेको सफलताले स्थानीय शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको छ । नर्सरीदेखि ८ कक्षासम्म सञ्चालन हुँदै आइरहेको विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयले वार्षिकोत्सवको अवसर पारेर शैक्षिक क्षेत्र लगायत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिकाहरुको मनमोहक सांस्कृतिक प्रस्तुती झल्काएका थिए । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा समाज परिवर्तनका लागि योगदान गरेका दर्जन बढी अतिथीहरुलाई सम्मान गरेको हो । समाजसेवी, लोकदेउडा कलाकार, आबिस्कारमा योगदान पुर्याएका बिद्यार्थी सँगै अन्य समाज सेवीलाई सम्मान गरिएको थियो ।
यस्तै वार्षिकोत्सवको अवसरमा पाठशालाले अत्तरियाको धर्मदीप फार्मेसीलाई आमन्त्रित गराई निःशुल्क स्वास्थ्य जाँच तथा उचित स्वास्थ्य फार्मेसी शिविर सञ्चालन गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.