
अत्तरिया, १४ फागुन : गोदावरी नगरपालिका–१ पृथ्वीनगरमा रहेको शिव मन्दिरमा स्थानीहरुले आफ्ना पृतिहरुको सम्झनामा थप पूर्वाधारहरु निर्माण हुने भएका छन् । बुधबार महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा पृथ्वीनगरमा बस्ने सागर कार्कीले आफ्ना पृति अर्थात स्व. आमा माताकुमारी कार्कीको सम्झनामा ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन । बुधबार सागरका बुवा केशव सिंह कार्कीले धुनिघर निर्माण कार्यको शिलान्यस गरेका छन् । सागर हाल रोजगारको सिलसिलामा कोरिया रहेका छन् ।
यस्तै आफ्नो स्व. (श्रीमती) मनोदरी देवी भट्टको स्मृतिमा पृथ्वीनगरमै बस्ने धर्मराज भट्ट उपाध्याय ले पनि मन्दिरमा केहि पूर्वाधार निर्माण गर्ने भएका छन् । उनी त्यस शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पनि हुन । उनले खानेपानीको धारा निर्माण कार्यको शिलान्यास गरेको मन्दिर व्यवस्थापन समितिका सचिव बाबुराम बलमपाकीले जानकारी दिए । करिव साढे तीन हेक्टर जमिनमा रहेको मन्दिरमा अहिले सम्म शिव मन्दिर, कृष्ण मन्दिर, यज्ञशाला, प्रवेश द्वार, गणेशको प्रतिमा, शिवको वहान नन्दी, शिलालेख स्थम्भ, पिपल चातारा, सभाहल, चिल्ड्रन पार्क लगायतका पूर्वाधार रहेका छन् ।
२०७५ सालमा स्थापना भएको मन्दिर स्थानीहरुले संरक्षण र सम्बद्र्धन गर्दै आएका छन् । भावी दिनमा मन्दिरमा अझै वृहत योजना रहेको मन्दिर व्यवस्थापन समितिको सचिव बलमपाकीले बताए । अत्तरिया–धनगढी छ लेन सडकबाट सय मिटर भित्र रहेको मन्दिर धार्मीक पर्यटकका लागि पनि सम्भावना भएको क्षेत्र हो । मन्दिरमा हालसम्म सुदूरपश्चिम प्रदेशको सामाजिक मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र गोदावरी नगरपालिका र वडा नम्बर एक र पृथ्वी नगरको आमा समुहले आर्थिक लगानीमा पूर्वाधार निर्माण भएको सचिव बलमपाकीले बताए । मन्दिरमा स्थानीय सहयोगी मनकारी सामाजिक व्यक्तित्वहरुबाट पनि पूर्वाधार निर्माणमा आर्थिक सहयोग हुँदै आएको उनले बताए ।
