अछाम : सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी उचाईमा मेल्लेख गाउँपालिकाको ऋषिदहमा झोलुङ्गे पुल निर्माण भएको छ । मेल्लेख गाउँपालिका १ ऋषिदहको लिफ्रुदेखि वडा नम्बर २ डाँडाँश्री जोड्न झोलुङ्गे पुल निर्माण भएको हो ।
शहरी विकास मन्त्रालायको डेढ करोडको लागतमा बनेको पुलको लम्बाई २७८ मिटर र उचाई करिब १२५ मिटर रहेको छ । लिफ्रु खोलामा निर्माण भएको पुल सुदूरपश्चिमै अग्लो भएको खम्पाचे चन्द्रोदय जेविका प्रमुख कर्ण बिष्टको भनाइ छ । २०७८ असार महिनामा सम्झौता भएको पुल निर्माणको काम माघ महिनामा सम्पन्न भएको हो ।
लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माण भएपछि लिफ्रु र डाँडाँश्रीका स्थानीयको यात्रा अवधि छोटिएको छ । लिफ्रु र डाँडाँश्री आवत–जावत गर्न कम्तीमा पनि दुई घण्टा समय लाग्ने गरेकोमा अहिले २० मिनेटमा डाँडाँश्रीबाट लिफ्रु पुग्ने गरेको स्थानीय वुद्धि धामीको भनाइ रहेको छ ।
‘भारी बोकेर डाँडाँश्री जाँदा उकालाको बाटोमा यात्रा निकै असहज हुँदै आएको थियो’ धामीले भने, ‘अहिले लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज हुनुका साथै समय बचत भएको छ ।’ उनले खोलाको बाटो भएर डाँडाँश्री जाँदा समस्या हुँदै आएकोमा झोलुङ्गे पुल बनेपछि सहज भएको उनको भनाइ छ ।
पहिले घाँसका भारी, अन्य सामग्री बोकेर डाँडाँश्री हिडेर जाँदा समस्या हुने गरेकोमा अव झोलुङ्गे पुल बनेपछि सहज भएको धामीको भनाइ छ । मेल्लेख गाउँपालिका वडा २ का वडा अध्यक्ष कुशलराज बुढाले लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माणले लिफ्रुदेखि डाँडाँश्री एक आपसमा जोडिएको बताए ।
मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले लिफ्रुदेखि डाँडाँश्रीमा अग्लो उचाइमा बनेको पुलको अवलोकन तथा ऋषिदहको पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्ने अध्यक्ष भलिवल कप प्रतियोगिताको आयोजना गरेको बताए ।