डोटीमा भरुवा बन्दुक पड्किदा एक जनाको घटनास्थलमै मृत्यु, १० जना नियन्त्रणमा

डोटी,वैशाख ५। डोटीको बडिकेदार गाउँपालिका–२ बर्छेनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार साँझ बडिकेदार गाउँपालिका–२ बर्छेनका २४ वर्षीय नरेश सार्की सिकार खेल्न जंगल गएका थिए। उक्त क्रममा भरुवा बन्दुक पड्किएर छातीमा गोली लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार बडिकेदार–१ रजेडा निवासी ४८ वर्षीय कमल सिंह खड्काले बोकेको भरुवा बन्दुक रुखमा ठोक्किँदा बन्दुक पड्किएको थियो। सोही क्रममा गोली नरेश सार्कीको दायाँ छातीमा लागेर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल बडिकेदार गाउँपालिका–१ स्थित बेडुपाटा खोलाको किनारमा रहेको जनाएको छ। घटनापछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १० जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार कमल सिंह खड्का, खेम खड्का, सिंह खड्का, तेजेन्द्र भाट, अमर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्ती मगर, मानबहादुर शाह र जुलेस नामजाली मगरलाई नियन्त्रणमा लिइएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.