गभर्नरमा भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता,आइतबार पेसी

काठमाडौँ,वैशाख५। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन्।निवेदकहरूका अनुसार आइतबार नै पेसीमा चढाउनेगरी पुरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ। दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको दाबी निवेदकहरूले गरेका छन्।

भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन।यसअघि गत २ वैशाखमा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिट अन्तरिम आदेश जारी गर्दै ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन सर्वोच्चले भनेको थियो।अधिवक्ता अनन्तराज लुईंटेलका अनुसार उक्त रिटमा अन्तरिम आदेशको छलफल पनि आइतबारका लागि नै तोकिएको छ।

सोही रिटमा भट्टविरुद्धको पुरक रिट समेत सामेल भइ पेस हुने प्रक्रिया रहेको लुईंटेल बताउँछन्।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरित डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको पनि पुरक रिट निवेदनमा दाबी गरिएको छ।कानुनको बाटोबाट योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा गैर कानुनी बाटोबाट नेताहरुको सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने दावी पनि रिटमा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.