अछामको साफेबगरमा आगलागी, १० वटा पसल जलेर नष्ट

अत्तरिया : अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिए । उनका अनुसार आगो अन्य पसलहरुमा समेत फैलिदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएका छन् ।

तर मानवीय र पशुचौपाया क्षति भने भएको छैन । प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको जनाएको छ । आगलागीबाट हाटबजारमा सञ्चालनमा रहेका काल भैरव जनरल स्टोर, रिभरसाईड नास्ता पसल, ब्युटिपालर, डाक मोबाईल ग्यालरी, कालभैरव सुनचाँदी पसल, रोडसाईड रेष्टुरेन्ट, ईभी काउन्टर एण्ड पसल र सितल होटल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको डीएसपी भण्डारीले बताए ।

मंगलसेन नगरपालिकाको दमकल मर्मतका लागि धनगढी पठाइएका कारण आगो नियन्त्रणमा लिन ढिलाई भएको थियो तर बिहान ६ बजे भने दमकलको प्रयोग बिना नै आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट १० पसल जलेपनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.