गोदावरी नगरका कुन वडामा कति बजेट विनियोजित ?

आकाश कार्की
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले वडा भेलाहरु सम्पन्न गरेको छ । जेठ १ गते देखि निरन्तर ६ गते सम्म संचालन भएका नगरपालिका अन्तर्गत १२ वटै वडाहरुमा वडाभेला सफलता पूर्वक सम्पन्न भएका छन ।
सम्पन्न भएका वडा भेलामा आर्थिक वर्ष २०८१\०८२ मा भए गरेका कार्यक्रमहरु र आगामी आर्थिक वर्ष २०८२\०८३ मा हुने निति तथा योजना कार्यक्रमहरु प्रस्तुत गरिएको हो । वडा भेलामा गोदावरी नगरपालिका बाट वडाहरूमा सिलिङ बजेट विनियोजित सार्वजनिक गरिएको छ ।
यस्तै सिलिङ बजेट विनियोजित सार्वजनिक अन्तर्गत आगामी आर्थिक वर्ष २०८२\०८३ मा १ नं. वडाको बजेट १ करोड २० लाख ९७ हजार ९ सय २२ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै २ नं. वडाको बजेट १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । क्रमशः ३ नं. वडाम ९५ लाख ९४ हजार ८५ रुपैयाँ बजेट, वडा नं. ४ मा १ करोड १८ लाख बजेट, वडा ५ नं. को १ करोड १ लाख ५५ हजार रुपैयाँ, ६ न. वडाको बजेट ९२ लाख २१ हजार ४५३ रुपैयाँ, ७ नं. को ८६ लाख १० हजार ७ सय ८० रुपैयाँ, वडा न. ८ को बजेट ९४ लाख २४ हजार ८२३ रुपैयाँ, ९ न.ं को बजेट ९१ लाख ३४ हजार ५ सय रुपैयाँ, यस्तै १० नं. वडाको ९३ लाख ३० हजार रुपैयाँ, वडा न. ११ मा ८६ लाख ५१ हजार रुपैयाँ र वडा नं. १२ को बजेट १ करोड २ लाख २६ हजार रुपैयाँ रहेका छ ।
गोदावरी नगरपालिका मार्फत प्राप्त बजेट सिलिङ मध्येबाट विनियोजित बजेट निति तथा कार्यक्रम अन्तर्गत प्राथमिकता दिए साथै भौतिक पूर्वाधार विकास तर्फ, सामाजिक तर्फ, आर्थिक विकास तर्फ, वातावरण तथा विपद् व्यवस्थापन तर्फ र सामाजिक सेवा तथा संस्थागत क्षमता विकास तर्फ लगायत विभिन्न विकासको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य र शिक्षा प्रमुख प्राथमिकता छ : नगर प्रमुख भट्ट

भेलामा नगरप्रमुख विरेन्द्र भट्टले नगरका सबै वडामा कुनै प्रकारको विभेद नगरी समान रूपमा बजेट विनियोजन गरिएको बताए । उनले जनताको सुझावलाई विकासका मार्गदर्शनका रूपमा ग्रहण गर्दै योजनाबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले खेलकुद क्षेत्रको विकासबारे उल्लेख गर्दै नगरप्रमुख भट्टले नमुना खेलमैदान निर्माणका लागि पहल भइरहेको बताए । सबै क्लबलाई बजेट विनियोजन सम्भव नहुने भएकाले साझेदारी र समन्वयको खाँचो रहेको स्पष्ट पार्दै उनले नमुना खेलमैदानका रूपमा बजेट विनियोजन गर्दा प्रभावकारी हुने धारणा व्यक्त गरे । यस्तै भूमि आयोगसँगको समन्वयमा नगरपालिकाले लालपुर्जा वितरण प्रक्रियालाई सहज बनाउन जमीनको राजश्व दर घटाएको उनले जनाए । खेती योग्य जमिनमा ५ प्रतिशत र आवास प्रयोजनको जमिनमा १० प्रतिशत मात्र राजस्व तोक्ने पहल गरिएको जसले नागरिकलाई सहज रूपमा स्वामित्वको प्रमाणपत्र प्राप्त गर्न सहयोग पुग्ने भएको उनले उल्लेख गरे ।
यस्तै कृषि क्षेत्रमा व्यवसायिक किसानहरूको लागि अवसर सिर्जना गर्न गोदावरी नगरपालिका वडा नं. १ मा हाटबजार स्थापना भइसकेको उल्लेख गर्दै उनले भने, यसको कार्यविधि तयार भइसकेको छ र यो महिना भित्र व्यवसायिक किसानहरूले बजार मूल्यअनुसार हाटबजार सञ्चालन गर्न पाउने छन् ।’ उनले कार्यभार सम्हालेदेखि नै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको बताए । उनले वडा भेलामा बोल्दै “निर्वाचित भएदेखि स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकता दिएर योजनाहरू कार्यान्वयन गर्दै आएको साथै नगरपालिका यी दुई क्षेत्रहरूमा सफल हुँदै आएको छ ।’
साथै, नगरको यस ३ नं वडामा निर्माण भइरहेको फोहोरमैला व्यवस्थापन केन्द्रलाई प्रदेशकै ठूलो परियोजनाका रूपमा लिइएको उनले उल्लेख गरे । यस प्रोजेक्टले वातावरण संरक्षणका साथै रोजगारी सिर्जना र स्थानीय उत्पादनमा सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए ।

बजेट सीमित, विकास प्राथमिकतामा : उप–प्रमुख रोकाया

उप–प्रमुख शारदा देवी रोकायाले सम्पन्न वडा भेलामा बोल्दै स्थानीय सरकारको बजेट सीमित भए पनि जनताको विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाइने बताईन् । उनले वडास्तरीय कार्यक्रमहरूमा आएको जनगुनासो, सुझाव र सल्लाहलाई गम्भीरता पूर्वक लिइने प्रतिबद्धता व्यक्त गरिन् । “यो स्थानीय निकायको बजेट धेरै हुँदैन, माथिबाट आउने रकम पनि घटेरै आउँछ, त्यसैले वडामा बजेट निकै सीमित हुन्छ ।,” उप–प्रमुख रोकायाले भनिन्, “तर, जनप्रतिनिधिहरूको कर्तव्य भनेको त्यो सीमित स्रोतलाई जनताको हितमा सदुपयोग गर्नु हो ।”
उनले अगाडि थपिन “कसैले पनि आफ्नो मात्र होइन, सबै जनताको विकासको कुरा गर्नुपछ । एक–अर्काको कुरा काटेर होइन, सहकार्य गरेर मात्र विकास सम्भव छ ।” गाउँघरका महिलाहरूको सक्रियता र भूमिकाको विषयमा उनले दिदीबहिनीहरूलाई स्वरोजगार र पशुपालनमा लाग्न आह्वान गरिन् । उनले वडाका जनताले दिएका सुझाव र गुनासोलाई सकारात्मक रूपमा लिने र तिनलाई कार्यान्वयनका आधार बनाउने प्रतिबद्धता जनाइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.