
काठमाण्डौँ, २९ जेठ : गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अहमदाबादबाट लन्डनका लागि उड्नेबित्तिकै दुर्घटनामा परेको एयर इन्डियाको एआई–१७१ जहाज दुर्घटनाबारे जानकारी दिँदै अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ वटा शव प्राप्त भएको जानकारी दिएका हुन् । प्रहरी आयुक्त मलिकले बीबीसी गुजराती सेवासँग भनेका छन्, ’केही सर्भाइभर पनि हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ वटा शव संकलन गरेका छौँ । ’
साथै दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचारका जारी रहेको पनि प्रहरीले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १ः३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फस्र्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
