Agni Offset Press

कृष्णपुर नगरमा कृषि क्षेत्रलाई प्राथमिकता

Aarati simant

अत्तरिया : कृष्णपुर नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उप प्रमुख द्रोपती रानाले नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्।

नगरले कृषकहरूको जीवनस्तर उत्थान गर्नका लागि बीउविजन वितरण, आधुनिक खेती प्रविधिको प्रयोग, व्यावसायिक कृषि प्रवर्द्धन, पशुपालन तथा माछापालनमा आत्मनिर्भरता विकास गर्ने योजना अगाडि सारेको छ। साथै, कृषकलाई सहुलियत दरमा कृषि मिटर, मलबीउ र उपकरण उपलब्ध गराउने तयारी गरिएको छ। कृषकहरूलाई लक्षित गरी जैविक तथा प्राकृतिक कृषि प्रणाली प्रवर्द्धन, भुस्याहा गाईरगोरु व्यवस्थापन, गहुँ, मकै, धान, तोरी, तरकारी, फलफूल तथा बाख्रापालनलाई व्यवसायिकता दिने नीति पनि समावेश गरिएको छ। महिला सशक्तिकरण अन्तर्गत महिला सहकारीहरू मार्फत आयमूलक कृषियोग्य कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
नगरका विभिन्न वडाहरूमा कृषि सेवा केन्द्र तथा पशु सेवा केन्द्र स्थापना गरी प्रविधिको पहुँच विस्तार गरिने तथा कृषकलाई तालीम, अनुदान, र सहजीकरणमार्फत आत्मनिर्भर बनाउने नीति अघि सारिएको छ। नगर प्रमुख र उपप्रमुखको नेतृत्वमा सञ्चालित कृषि कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने गरी स्वचालित सिँचाइ, कृषि बीमा, र बजार व्यवस्था प्रणालीलाई सुदृढ पारिने प्रतिबद्धता व्यक्त गरिएको छ।

नगरपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको आधार मानेर बजेट विनियोजन गरेको स्पष्ट पार्दै स्थानीय उत्पादनमा वृद्धि, कृषि पेशामा युवाको आकर्षण र कृषिमा नवप्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको छ। यस्तै, पूर्वाधारतिर नगरभित्रका सडकहरूको स्तरोन्नति, नयाँ सडक निर्माण, बाढी र बर्षात्को समयमा अवरुद्ध हुने स्थानहरूमा कालोपत्रे, ग्राभेल तथा ढलसहितका सडकहरू निर्माण गरिनेछ। यातायात सहज बनाउन बस स्टप, संकेत चिह्न, पार्किङ, ट्राफिक चेकपोइन्ट, र सीसीटीभी जडान जस्ता उपायहरू अपनाइनेछन्।

सिचाइ क्षेत्रमा महाकाली सिचाइ आयोजनाको तेस्रो चरणमा सहजीकरण, नयाँ साना तथा मझौला योजनाको विस्तार, थोपा सिचाइ, सौर्य सिचाइ प्रणाली जस्ता प्रविधिहरूमा जोड दिइने छ। किसानलाई उपकरण खरिदमा सहुलियत र तालिम प्रदान गरिनेछ।

शहरी विकासतर्फ भवन निर्माण आचारसंहिता कार्यान्वयन, डिजिटल ठेगाना प्रणाली, हरित क्षेत्र, बाल उद्यान, तथा स्मार्ट प्रविधि जडान गरिनेछ। अतिक्रमण नियन्त्रण, सुरक्षित बस्ती स्थानान्तरण, तथा विपद् जोखिम न्यूनीकरणमा पनि ध्यान दिइनेछ।

बिजुली तथा वैकल्पिक उर्जा क्षेत्रमा बायोग्यास, सौर्य बत्ति जडान, फोहोरबाट उर्जा उत्पादन लगायतका कार्यक्रमलाई प्राथमिकता दिइनेछ। ‘उज्यालो मेयर’ कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.