Agni Offset Press

दुनाटपरी उद्योगबाट वार्षिक ३ लाख ६० हजार बचत गर्ने फूलबारीकी भावना

Aarati simant

अत्तरिया : भनिन्छ नी मेहनत गरे एकचोटी सफलता हात लाग्छ । यस्तै भएको छ धनगढी उपमहानगरपालिका–१४ एचगाउँ बस्ने ३६ वर्षीया भावना पुलामीमगरलाई पनि । विदेश जान तयार भएकी भावना आर्थिक अभावका कारण विदेश जान सकिनन् । अहिले उनले विदेशजस्तै कमाइ यही गर्न थालेकी छन् ।

उनले भनिन् ‘खान,लाउन,बस्न समस्या थियो । दुई छोराछोरी पढाउन हम्मे हम्मे थियो । आर्थिक अवस्था नाजुक भएका कारण मलेसिया जानका लागि पासपोर्ट बनाए । पैँसा थिएन, कम्पनीले जानका लागि ३ लाख लाग्छ भन्यो,जान सकिन ।’

‘२० जनाको समूहमा एक लाख ५० हजारको लगानीमा शानीडाँडा दुनाटपरी उद्योग सञ्चालनमा ल्यायौँ । त्यसपछि मेरो सफलता यहीबाट सुरु भयो’ उनले भनिन् । पहिले समूहमा उद्योग सञ्चालन गरे पनि अहिले उनी एक्लैले उद्योग सञ्चालन गर्दै आएको उनले बताइन् ।

‘सबैले उद्योग छोड्दै गए पछि यो उद्योग आफ्नो काँधमा आयो । मैले सञ्चालन गरेको ६ वर्ष जति भयो । मासिक १ लाख हुन्छ बराबरको कारोबार हुन्छ’ उनले भनिन् ‘८ हजार तलवमा एक जना कामदार पनि राखेकी छु । सबै खर्च कटाएर मासिक ३० हजार बचत हुन्छ । वर्षको ३ लाख ६० हजार बचत हुन्छ ।’

आर्थिक अभावका कारण मलेसिया जान पासर्पोट समेत बनाएको ३६ बर्षीया भावना पुलामीमगर विदेश जान आर्थिक जोहो गर्न नसेकपछि ५० हजार लगानीमा दुनाटपरी उद्योग खोलेकी हुन ।

उनका श्रीमान विदेशी भुमि साउदीमा रहेको उनी बताउँछिन् । उनले भनिन् ‘श्रीमान साउदी हुनुहुन्छ । दुई छोराछोरीलाई पढाई रहेकी छु । अरुलाई तालिम पनि दिइरहेकी छु । पैँसाको पनि कमी छैन ।’

‘पहिले घरको अवस्था नाजुक त छँदै थियो । बस्नका लागि घर थिएन, सानो झुपडी मात्र थियो’ उनले भनिन् ‘अहिले यही पेसाबाट भएको कमाईबाट ४ कोठे पक्की बनाएकी छु । मेहनत गर्न सके कामको खोजीमा विदेश जानु पर्दैन आफ्नै देशमा राम्रो गर्न सकिन्छ ।’
थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । दुनाटपरी सम्बन्धी ६२ जनालाई तालिम दिइसकेको बताउँदै उनले बर्दिया अछामबाट पनि काम सिक्न आउने गरेको बताइन् ।

उनले भनिन् ‘मबाट सिकेर गएका महिलाहरु राम्रो गरिरहेका छन् । दुनाटपरीको बजार छ । उत्पादन भएका दुना र टपरी पोखरासम्म खपत हुने गरेको छ । दिनको ३ हजार दुना र ३ हजार टपरी उत्पादन हुने गरेको छ ।’

सुदुरपश्चिमको डडेल्धुरा,महेन्द्रनगर,झलारी लगायतका स्थानमा दुनाटपरीको खपत हुने गरेको उनले बताइन् । ‘मुख्यबजार भनेको पोखरा हो’ उनले भनिन् ‘एक पिस दुनाको एक रुपैयाँ र टपरीको तिन रुपैयाँ ९५ पैसामा बिक्री गर्ने गरेकी छु । प्याकिङ,फिनिसिङ मेसिन नुहँदा समस्या छ ।’

‘हामीले उत्पादन गरेको दुनाटपरीलाई अन्यले प्याकिङ गरेर आफ्नै कम्पनीको छाप सहित महंगोमा विदेश पठाउँछन्’ उनले भनिन् ‘मैले गरेको उत्पादन उनीहरुले ४० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । मेसिन आफूसँग भएको भए आफ्नै कम्पनीको छाप लगाएर पठाइन्थ्यो । कामको प्रतिफल पनि पाइने महंगोमा पनि बिक्री हुने थियो ।’

सरकारबाट आफूले अनुदान नपाएको उनको गुनासो छ । उनले भनिन् ‘सरकारले हामी जस्तालाई कहाँको अनुदान दिनु,चलाख र पार्टीका कार्यकर्ता नेताहरुलाई पो हो अनुदान पाइने’ उनले दुःखेसो गर्दै भनिन् ‘हामी गरिखानेलाई कोही पनि हेर्दैनन् । सरकारले हामी जस्तोलाई हेरिदिएको भए धेरै राहत हुने थियो ।’

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.