अत्तरिया : धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका प्रशुनारायण चौधरी बंगुरपालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । १४ बर्षदेखि बंगुरपालन गर्दै आएका उनले बार्षिक १२ लाख आम्दानी गर्ने गरेका छन् ।
२०६९ सालमा बंगुरपालन गर्ने सोच बनाएका उनले ८० हजार ऋण लिएर बंगुरको खोर निर्माण गरेर केही बंगुर पाल्न थाले । बंगुरपालन फष्टाएपछि बंगरको संख्या ४ सय भन्दा बढी भएको उनले बताए । पहिला उनले मासुको लागि बंगुर पाल्ने गरेका थिए भने अहिले उनी पाठापाठी उत्पादनका लागि बंगुरपाल्ने गरेका छन् ।
उनले वाषिक ४५० वंगुरका पाठापाठी बेच्ने गरेका छन् । प्रति जोडा पाठापाठीको ६ हजारका दरले बिक्री गर्ने गरेको उनले सुनाए । ‘वार्षिक ३० लाखको बिक्री हुन्छ । सबै खर्च कटाएर बिक्री रकमको ४० प्रतिशतले करिव १२ लाख फाइदा हुने गर्दछ ।’, उनले भने ‘परिश्रम धेरै गर्नुपर्छ । मासु बिक्रीका लागि पालेका बंगुरमा यती मेहनत गर्नुपर्दैनथ्यो । तर आज भोलि पाठापाठी उत्पादनमा मेहनत धेरै गर्नुपरेको छ’ उनले अगाडि भने ‘अहिले मसँग २७ वटा बंगुर रहेका छन् । पाठापाठी उत्पादन गर्नका लागि धेरै बंगुर आवश्यक हुँदैन् ।
नेपाल सरकारले आफू जस्ता कृषकलाई हेप्ने गरेको उनले बताए । सरकारले कृषकलाई उकास्नु भन्दा पनि विस्थापित गरेको उनको भनाइ छ । अहिलेसम्म सरकारले केही नगरेको उनले बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीबाट ९० हजार अनुदान बाहेक केही पनि नपाएको उनको गुनासो छ ।
बंगुरको बजार हुँदा पनि बधशाला नभएका कारण समस्या रहेको बताए । उनले भने ‘पहिला म मासुको लागि पालेका बंगुर बर्दिया बधशाला लैजान्थे साह्रै समस्या हुन्थ्यो । बंगुर त्यति टाढा लिदा दुःख त हुने नै भयो । त्यही कारण म पाठापाठी उत्पादन तिर लागेको हुँ ।’
‘सुदूरपश्चिम क्षेत्रमै बधशाला भइदिएको भए कष्ट हुने थिएन २ बंगुरपाल्ने ४ पाल्थे सरकारले यो व्यवस्था गर्न जरुरी छ’ उनले भने । आफुले उत्पादन गरेको बंगरको पाठापाठी किन्न घरमै आउने गरेको उनले बताए । ‘कोल्डस्टोर छैन,कृषकलाई समस्या त छ नी ?’ उनले थपे ‘सरकारबाट पाइने अनुदान वास्तविक कृषकसम्म पुग्न नपाउँदै बिचौलियाको हातमा जान्छ । यस्ता समस्याका कारण कृषक मारमा पर्दै गएका छन ।’ उनले भने ‘काम गर्न सक्यो भने फाइदा छ नी । जसोतसो गरिरहेको छु । परिवारको घरखर्च,बालबच्चाको पढाइलेखाइ खर्च यसैबाट छ ।’
प्रशुनारायणले बंगुरपालनबाट भएको फाइदाबो रकम ईटा र मसला उद्योगमा लगानी गर्ने गरेको बताए । ‘दुई दाजुभाइ छौँ । बंगुरपालनको फाइदाबाट ईटाभट्टा र मसला उद्योगमा पनि लगानी गरेका छौँ ।’
‘मैले ईटाभट्टा र बंगुर फर्म हेर्ने गरेको छु । भाइले मसला उद्योग समाल्ने गरेको छ ।’ उनले भने ‘लगानी केही बंगुरको फाइदाबाट छ । केही कृषि विकास बैंकबाट ऋण लिएको छु । आम्दानीबाट तिर्दै गएको छु । करिब ६० लाख बैंकको ऋण छ ।’
उनले भने ‘अहिले आफूलाई भ्याइनभ्याइ कामको लोड छ । मसलाको व्यवस्थापन, भुसी ईटाको व्यवस्थापनमा समय खर्चिने गरेको छु ।’ ‘ईटा सिजनमा उत्पादन हुन्छ,बर्षायाममा बन्द हुन्छ’ उनले भने ‘मसला उद्योग सधै सञ्चालन भइरहन्छ’ उनले भने ‘राम्रो भइरहेको छ,ऋण तिर्न र बचत राम्रै भइरहेको छ ।’
ईच्छाशक्ति र काम गर्ने जोस भए नेपालमै राम्रो कमाइ रहेको उनले बताए । जोसजागर नभएपछि जहाँ गएपनि केही नहुने उनको भनाइ छ । सानो लगानीबाट आफ्नै देशमा राम्रो कमाइ गर्न सकिने उनको भनाइ छ ।
सम्बन्धित पाेस्टहरु