पेट्रोलियम पदार्थको मूल्य घट्यो : अब पेट्रोल, डिजेल कतिमा पाउछ त ?

अत्तरिया, ३१ असार : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । मंगबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।
भारतीय आयल कर्पोरेशन बाट नयाँ दरमा प्राप्त पेट्रोलियम खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको हो । निगम सञ्चालक समितिको असार ३१ गतेको निर्णय अनुसार असार ३२ गते बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुनेछ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १५७.५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम गरिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य क्रमशः १४५.५०, १४७ र १४८ रुपैयाँ निर्धारण गरिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज परेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाह समावेश छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन् । नेपाल आयल निगमले सहजता, पारदर्शिता र शुद्धता अपनाउँदै मूल्य समायोजन गरिरहेको बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.