दार्चुला, ११ साउन : दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा रहेको शंकरपुर क्याम्पस पस्ती, बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस हाँट र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर सहित सुदूरपश्चिमका विभिन्न १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
प्रदेशका १३ सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसको रूपमा समायोजन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको हो । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालकोट पुगेर औपचारिकरूपमा माग पत्र बुझाएको हो ।
पत्रमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १३ वटा क्याम्पसलाई ०८२र०८३ मा आंगिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा शिक्षा विकासलाई प्रदेशको दीर्घकालीन आर्थिक आत्मनिर्भरता र समाज परिवर्तनको आधार मानिएको छ । सत्यसित नलड्ने र शक्तिसित नझुक्ने समाज निर्माणमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।
सम्बन्धित पाेस्टहरु