धनगढी–१३ मा नवौं रानाथारु तिज महोत्सव

अत्तरिया : कैलालीको धनगढी उप–महानगरपालिका वडा नं १३ स्थित कैलाली गाउँमा नवौं रानाथारु तिज महोत्सव–२०८२ सम्पन्न भएको छ। रानाथारु महिला कृषक समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रम सरिता रानाको सभाध्यक्षतामा र वडा नं १३ का वडाध्यक्ष विजय राज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा सदस्य हिरालाल राना, निशा कुमारी आउजी, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, भलमन्सा पधनाहरू तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि वडाध्यक्ष बिजय राज जोशीले रानाथारु समुदायको संस्कृति, कला र पहिचान संरक्षणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, “हाम्रो समुदायको संस्कृतिलाई जगेर्ना गर्न यस्ता महोत्सव आवश्यक छन्। वडा कार्यालयले यसअघि जस्तै आगामी दिनहरूमा पनि निरन्तर सहयोग गर्नेछ।” साथै, उनले बालबालिकालाई लागू औषधको खतराबाट जोगाउन अभिभावकको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै प्रहरी वा जनप्रतिनिधिले मात्र गरेर न्यूनीकरण सम्भव नहुने बताए।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि १३ नं का वडा सदस्य हिरालाल रानाले रानाथारु समुदाय एकजुट नभएसम्म आर्थिक, भौतिक र सामाजिक विकास सम्भव नहुने उल्लेख गर्दै स्वास्थ्यप्रति सचेत रहन आवश्यक रहेको बताए। उनले सामूहिक रुपमा सञ्चालनमा रहेको योग व्यायाम कार्यक्रममा निस्शुल्क सहभागी हुन सबैलाई आग्रह समेत गरे।

कार्यक्रममा कराते प्रदर्शन गरिएको थियो भने भलमन्सा मोली रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको संचालन सन्तराम रानाले गरेका थिए। यस महोत्सवमार्फत रानाथारु समुदायको मौलिक संस्कृति संरक्षण, सामाजिक एकता र जागरुकता प्रवर्द्धनको सन्देश प्रवाह गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.