एकीकृत फोहोरमैला केन्द्रलाई दीर्घकालीन व्यवस्थापन : स्रोतमै फोहोरको वर्गीकरण गर्ने रणनीति मुख्य एजेण्डा
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा आएको एकीकृत फोहोरमैला केन्द्रलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न नगर प्रमुख, शहरी विकास कार्यालयका प्रतिनिधि, निर्माण कम्पनी र फोहोर व्यवस्थापनमा खटिने टोली बीच विशेष छलफल भएको छ । सोमबार एक कार्यक्रमका बीच छलफल भएको हो ।
छलफलमा नगरपालिकामा फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन स्रोतमै फोहोरको वर्गीकरण गर्ने रणनीति मुख्य एजेण्डा बनेको छ । सहभागीहरूका अनुसार घर–घरमै कुहिने, नकुहिने र हानिकारक फोहोरलाई छुट्टाछुट्टै सङ्कलन गर्न सकेमा फोहोरमैला केन्द्रको दीर्घकालीन हुने र वातावरणीय प्रदूषण घटाउन सकिने निष्कर्ष निकालेको हो ।
यस प्रक्रिया अन्तर्गत कुहिने फोहोरलाई कम्पोस्टिङ गरेर जैविक मल उत्पादन गर्ने, नकुहिने फोहोरलाई पुनःप्रयोग (रिसाइकल) गरी नयाँ परियोजनामा प्रयोग गर्ने र हानिकारक फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । यसरी व्यवस्थापन गर्दा डम्पिङ साइटमा पुग्ने फोहोरको मात्रा घट्ने र दीर्घकालीन रुपमा खर्च पनि बचत हुने नगरपालिकाले जनाएको छ ।
विशेष गरी फोहोरमैला व्यवस्थापन केन्द्रको सञ्चालनको अनुगमन, निरीक्षण तथा स्रोतमै वर्गीकरणलाई मजवुत बनाउने, गोदावरी नगरपालिकाको तर्फबाट फोहोर जलाउने वा जथाभावी फाल्नेहरूलाई कारबाहीको दायरामा ल्याउने र स्वच्छ गोदावरी बनाउने अभियानमा जनचेतना फैलाउने समेत निगरानी गरिने छ ।
नगर प्रमुख भट्टले गोदावरीलाई सफा, स्वस्थ र हरित नगरपालिका बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । उनले फोहोर व्यवस्थापनलाई केवल नगरपालिकाको जिम्मेवारी नभई नागरिकको पनि दायित्व भएको उल्लेख गर्दै स्रोतमा नै वर्गीकरण गर्ने अभियानलाई सफल बनाउन सक्रिय सहभागिताको आग्रह गरे ।
सहभागी विज्ञहरूले पनि आधुनिक प्रविधि र स्थानीय तहबीचको समन्वयमार्फत फोहोर व्यवस्थापनलाई दिगो बनाउन सकिने सुझाव दिए । छलफलमा सहभागी टोलीले गोदावरी नगरपालिकालाई उदाहरणीय नगर बनाउन एकीकृत फोहोर व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एशियाली विकास बैंक (एडीबि) का विशेषज्ञ विज्ञ डा. डण्डीराज पाठक, शहरी विकास कार्यालय शिखर तामाङ, आयोजना ब्यावस्थापक÷ निर्माण कम्पनीका म्यानेजर ई. आशोक पाण्डे, “हाम्रो ग्रीन सुदूरपश्चिम परामर्श स्वच्छ वातावरण प्रणाली” का प्रतिनिधिहरू गोविन्द रावल, केशवराज पन्त लगायतको उपस्थिति थियो ।