नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद सतहमा

अत्तरिया : पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टीका तल्लो स्तरका नेता, कार्यकर्तामा निराशा छाएको छ । दुई वर्षपछि हुने निर्वाचनका लागि स्थानीयस्तरमा माहोल बनाइरहेका उनीहरू पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिचको आरोप प्रत्यारोप र विवादले खिन्न भएका छन् । नाउपाबाट कैलारी गाउँपालिकाको अध्यक्षमा चुनावसमेत लडेका भीष्मराज चौधरीले उहाँ (रेशम चौधरी–रञ्जिता श्रेष्ठ) को सबै गतिविधि आफूहरूले हेरिरहेको बताउँदै उहाँहरू सुध्रिएर आएनन् भने त्यसमा नेता तथा कार्यकर्ताले विचार गर्ने बताए ।

उनले भने, “उहाँहरू सुध्रिनुहुन्छ, हामीले त्यही अपेक्षा गरेका छौँ ।” दुवै नेताको विवादका कराण सुदूरपश्चिम प्रदेशमा पार्टीले मुख्यमन्त्री गुमाएको थियो । मन्त्रीहरू पनि उहाँहरूका कारण बर्खास्तमा परेको पनि गुनासो भइरहेको छ ।

अध्यक्ष श्रेष्ठलाई पदबाट हटाएर अर्को अध्यक्ष बनाउने प्रयासपछि नागरिक उन्मुक्ति पार्टीभित्र खैलाबैला मच्चिएको छ । केही दिनअगाडि मात्रै बहुसङ्ख्यक केन्द्रीय सदस्यको बैठकबाट संरक्षक चौधरीले श्रीमती श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर सांसद लालवीर चौधरीलाई पार्टी अध्यक्ष बनाएको थियो तर निर्वाचन आयोगले चौधरीलाई अध्यक्षको मान्यता नदिएपछि वैधानिक रूपमा श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेकी छन । यो प्रकरणले गर्दा नाउपाका संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबिचको विवाद अझ बढेको छ । उनीहरूको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी नै छिन्नभिन्न बन्ने अवस्थामा पुगेको छ । नाउपाका नेता तथा कार्यकर्ताले पार्टी छाड्न थालेका छन् । रातदिन मेहनत गरेर बनाएको पार्टीभित्र शीर्ष नेतृत्वको विवादले निराश रहेको बताउँदै नेता भीष्मराज चौधरीले उहाँहरू सुध्रिनेमा आफूहरू आशावादी रहेको बताए ।

पार्टीभित्र शीर्ष नेताबिचको आन्तरिक विवादका कारण पालिकास्तरका नेता, कार्यकर्ता तितरबितर नभए पनि उत्साह भने कम भएको नेता भीष्मको दाबी छ । उनले तल्लो तहमा सबै ठिकठाक रहे पनि माथिल्लो तहमा नेताहरूले गडबडी गरिरहेको स्पष्ट पारे ।
थरुहट आन्दोलनको जगबाट उदाएको नागरिक उन्मुक्ति पार्टी २०७९ को निर्वाचनपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बलियो शक्तिका रूपमा उदाएको छ । थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चुकेको यो पार्टीप्रति थुप्रै जनताको सहानुभूति र आकर्षण देखिएको थियो तर पछिल्लो समय देखिएका घटना क्रमका कारण नागरिक उन्मुक्ति पार्टीको आलोचना बढेको छ ।

शीर्ष नेताको विवादले कार्यकर्ताको मनोबलमा असर परेको नागरिक उन्मुक्ति पार्टी कैलारी गाउँपालिकाका अध्यक्ष शङ्कर चौधरीले बताए । “असर नपर्ने त कुरै भएन,” उनले भने, “तर, हामी रेशमवादप्रति एकढिक्का छौँ ।”

पार्टी संरक्षक रेशम चौधरीले उठाएको मुद्दालाई हेरेर कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएको उल्लेख गर्दै चौधरीले अध्यक्ष श्रेष्ठको चर्तिकलाप्रति निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ता असन्तुष्ट र दुःखी रहेको उल्लेख गरे । “पार्टीको विधि, पद्धति, अनुशासन समिति छ,” उनले भने, “तर जसरी पार्टी अध्यक्ष ज्यूले चर्तिकला देखाइरहनुभएको छ, त्यसले हामीलाई दुःखी बनाएको छ ।”

भजनी नगरपालिका–३ का वडाध्यक्षसमेत रहनुभएका सो पार्टीका नेता विक्रम चौधरीले ठुला पार्टीले आफू बलियो हुनका लागि नागरिक उन्मुक्ति पार्टीलाई विभाजित गर्न खोजिरहेको जिकिर गरे । नेता विक्रम चौधरीले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद श्रीमान्–श्रीमतीबिचको झगडा मात्रै रहेको भन्दै दुई जना मिले सबै कुरा मिल्ने दाबी गरे । “श्रीमान्–श्रीमतीको झगडा परालको आगो जस्तै हो,” उनले भने, “उहाँहरू मिलेपछि सबै कुरा मिल्छ ।”

शीर्ष नेताबिचको विवादको असर ग्रामीणस्तरमा खासै नपरेको सुदूरपश्चिम प्रदेश सभा सदस्य कैलाश चौधरीको बुझाइ छ । उनले अरू जिल्लामा अलि असर परे पनि कैलालीमा पार्टीका कार्यकर्ता पार्टी र मुद्दामा अडिग रहेको दाबी गरे । “माथिका नेताहरू दुई धारमा छन् तर ग्रास रुटका नेता, कार्यकर्ता, जनतामा दुई धार मैले पाएको छैन,” चौधरीले भने, “शीर्ष नेतृत्वले सही ढङ्गले नेतृत्व गरिदिओस् भन्ने उनीहरूको चाहना छ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.