आकाश कार्की
अत्तरिया : गोदावरी नगरपालिकाको चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माणमा चरम ढिलासुस्ती भएपनि जनप्रतिनिधि जुरमुराएका छन् ।
ठेकेदारको लापरबाही भएपछि स्थानीय वडाध्यक्षहरू सामूहिक दबाबमूलक आन्दोलनमा उत्रिएका हुन । त्यसमा साथ मेयर विरेन्द्र भट्ट र सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले पनि साथ दिएका छन् ।
पटक–पटक आवाज उठाउँदा पनि ठेकेदारले अटेरी गरेपछि वडाध्यक्षहरूले वडा कार्यालय नै सडकबाट सञ्चालन गर्न थालेका हुन् । सडकबाट कार्यालय संचालन दबाब मुलक आन्दोलनमा वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डू) ले दुई दिनसम्म कार्यालय सडकमै सञ्चालन गर्ने र तेस्रो दिन अत्तरिया चोकमा सडक आन्दोलन गर्ने बताए । यसअघि नै जिल्ला प्रशासन कार्यालय (सीडीओ) र भौतिक पूर्वाधार कार्यालयमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको उनले बताए ।
छ वर्षसम्म सडक निर्माण नहुँदा वडा नं. ३, १०, ११ र १२ का बासिन्दाले ठूलो सास्ती भोग्नु परेको छ । भारतमा ५–६ वर्ष मिहिनेत गरेर ४–५ लाखमा अटो किनेका स्थानीयले सडक अभावका कारण ती गाडी पाँच महिनामै बिग्रिने अवस्था आएको गुनासो गरेका छन् । गर्भवती महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने, सर्पदंशको उपचारका लागि समयमै अस्पताल पुगाउन नसकिने समस्या पनि दोहोरिँदै आएको छ । अटो रोजगार लगायत व्यक्तिहरू उचित सडक नहुँदा बासिन्दाहरू रोजगारीका लागि फेरि भारत फर्कनुपर्ने बाध्यता समेत सिर्जना भएको छ ।
“चौकीडाँडा–फल्टुडे सडक निर्माणको ठेक्का पाएको एडवान्जर थिगीम जेभी र तेडी निर्माण सेवाले पटक–पटक सम्झाइ–बुझाइ र पहल हुँदाहुँदै पनि काम नगरेको हो’’
समयमै सडक बनेको भए यातायात, स्वास्थ्य र रोजगारी सहज हुने मात्र होइन, समाज रूपान्तरणमा ठूलो योगदान हुने अपेक्षा गरिएको थियो । तर ठेकेदारको लापरबाहीले हजारौँ बासिन्दा वर्षौंदेखि प्रत्यक्ष पीडित बनेका छन् । “हामी यहाँ खुसीले सडकमा आएका होइनौँ । चारैतिरबाट सुनुवाइ नभएकाले बाध्य भएर सडकमा उत्रिनुपरेको हो,” वडाध्यक्ष शाहीले भने ।
यस्तै सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदार कम्पनीले गरेको चरम लापरबाही विरुद्ध आवाज उठाउँदै सडक बाट कार्यालय संचालन गरी आन्दोलनमा रहेका गोदावरी नगरपालिका–३, १०, ११ र १२ का वडाध्यक्षहरूको कदम प्रति ऐक्यबद्धता जनाएकी छिन् ।
“प्रदेश सरकारले विकासका लागि बजेट छुट्याए पनि लगातार ६ वर्षसम्म चौकीडाँडा–फल्टुडे सडक निर्माण सम्पन्न हुन सकेको छैन । यसमा ठेकेदार कम्पनीको चरम लापरबाही जिम्मेवार छ’’ उनले भनिन् ।
सांसद देवकोटाले प्रदेश सरकारले तत्काल अनुगमन गरी निर्माण कम्पनीसँग छलफल गरेर सडक निर्माण कार्यलाई सघन रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् । त्यसैगरी, सडक निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकाय र मन्त्रालयसँग आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।
गोदावरी नगरपालिका–११ का वडाध्यक्ष प्रेम सिंह बडैलाले चौकीडाँडा–फल्टुडे सडक निर्माणमा देखिएको चरम लापरबाहीका कारण स्थानीयवासीले दैनिक दुःख भोग्नुपरेको बताएका छन् ।
सडक निर्माण कार्य लामो समयदेखि अघि नबढेकाले विरोधस्वरूप सडकमै कार्यालय संचालन गर्न बाध्य भएको वडाध्यक्ष बडैलाले बताएका हुन् । “सडकबाटै कार्यालय संचालन गर्नु रहर होइन, बाध्यता हो,” उनले स्पष्ट पारे । उनले विकास निर्माणसँग सम्बन्धित निकायले जिम्मेवारीप्रति बेवास्ता गरेको भन्दै तत्काल गुणस्तरीय ढंगले सडक निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
आन्दोलनलाई समर्थन गर्दै नगर प्रमुख विरेन्द्र भट्टले सडक निर्माणमा सम्बन्धित निकायको पनि लापरबाही रहेको र यसबारे बुझाइएको ज्ञापनपत्रका बावजुद अहिलेसम्म ठोस कदम नलिइएको जनाएको छ ।
नगर प्रमुख भट्टले मुख्य मन्त्री र जिल्ला प्रशासन कार्यालय (सीडीओ) संग छलफल गरी निर्माण कम्पनीलाई सडक निर्माण छिटो सम्पन्न गराउने प्रतिबद्धता गराइनेछ । उनले भने “सडक निर्माणमा मात्र आन्दोलनले समाधान नहुने भएकाले वार्ताका माध्यमबाट समस्या समाधान गरी निर्माण कार्य छरितो रूपमा सम्पन्न गराउने छौं ।”
मुख्य समस्या ओलानी क्षेत्रमा रहेको छ, जहाँ प्रत्येक वर्ष सर्पको टोकाइका कारण ५–७ जनाले ज्यान गुमाउँदै आएका छन् । सडक नहुँदा आकस्मिक अवस्थामा अस्पताल पुग्न ढिलाइ हुने समस्या हुने गरेको छ । उचित सडक निर्माण भएपछि यी स्वास्थ्य र सुरक्षा सम्बन्धी समस्या सहज हुने विश्वास व्यक्त गरिएको छ ।