अत्तरिया : भदौ २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनले सुदूरपश्चिमका विभिन्न जिल्लाका भौतिक संरचनामा ठुलो क्षति पुर्यायो । कैलालीको गोदावरी नगरपालिका यो आन्दोलनको सबैभन्दा ठुलो सिकार बन्यो । काठमाण्डौँमा दुई दिन प्रदर्शन भए पनि सुदूरपश्चिममा भने एक दिन मात्र भएको हो ।
लामो समयपछि गोदावरी नगरपालिकाका जनताले नयाँ प्रशासनिक भवन पाएका थिए । नयाँ भवन बनेको केही समयमै जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको हो । आन्दोलनको नाममा भएको यो विध्वंसपछि सेवा प्रवाह ठप्प छ भने नगरपालिका भवन कसरी पुनर्निर्माण गर्ने भन्ने चिन्ता थपिएको छ ।
गोदावरी नगरपालिका प्रमुख विरेन्द्र भट्ट नगरपालिका भवन जल्दा धनगढीमा थिए । भदौ २४ गते नगरपालिकामा तोडफोड र आगजनी हुँदा उनी नेपाल
नगरपालिका संघ, सुदूरपश्चिम प्रदेशको संयोजकको रूपमा मुख्यमन्त्री कार्यालयमा एक महत्पूर्ण बैठकका लागि गएका थिए ।
‘बिहान ११ बजे मुख्यमन्त्रीज्यूसँग बैठक थियो, म साढे १० बजेतिर धनगढीका लागि निस्किएको थिएँ । पछि नगरपालिकामा तोडफोड भयो भन्ने खबर आयो,’ नगर प्रमुख भट्टले भने ।
सुरुमा तोडफोडको खबर पाएका उनले तत्काल जिल्ला प्रशासन र सुरक्षा निकायलाई खबर गरे, तर स्थितिलाई नियन्त्रणमा लिन नसक्दै आन्दोलनकारीको समूहले उनको व्यक्तिगत घरमा समेत आगजनी गर्यो । घटनाक्रम त्यतिमै रोकिएन । पूर्वमन्त्री लेखराज भट्ट, पूर्वमेयर, वडा सदस्य र अन्य स्थानीयको घर तथा पसलमा समेत तोडफोड र आगजनी भयो ।
‘सुरुमा नगरपालिकामा तोडफोड गरे । त्यसपछि मेरो र अरूको घर जलाए । साँझ फेरि नगरपालिका भवनमा गएर आगो लगाए, जसले गर्दा भवन पूर्ण रूपमा ध्वस्त भयो,’ नगर प्रमुख भट्टले भने ।
लामो प्रयासपछि निर्माण सम्पन्न भएको नगरपालिकाको भवन अहिले क्षतिग्रस्त छ । भित्रका फर्निचर, कम्प्युटर, महत्त्वपूर्ण कागजात र सबै संरचना जलेर नष्ट भएका छन् । भट्टले भने, ‘भित्र हेर्दा चिताजस्तो देखिन्छ । आफ्नो घर जलेको भन्दा नगरपालिकाको भवन जलेकोमा धेरै दुःख लागेको छ ।’
भवन ध्वस्त भएसँगै नगरपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा पूर्ण रूपमा बन्द भएका छन् । अत्यावश्यक सेवाहरू वडा कार्यालयबाट जेनतेन चलाउने प्रयास भए पनि त्यो प्रभावकारी हुन सकेको छैन ।
यो संकटको घडीमा नगरपालिकाले पुनर्निर्माणका लागि जनतासँगै सहयोगको अपिल गरेको छ । ‘यो सम्पत्ति सबै नगरवासीको हो । त्यसैले हामीले सबैलाई सहयोगका लागि अपिल गरेका छौँ,’ नगर प्रमुख भट्टले भने । नगरपालिकाको अपिलपछि स्थानीय दाताहरूले जिन्सी सामानहरू सहयोग गर्न थालेका छन् ।
‘अहिले हामीलाई सबैभन्दा बढी आवश्यकता कम्प्युटरको छ । ५\७ वटा प्राप्त पनि भइसकेको छ । दराजलगायत अन्य फर्निचर पनि आउने क्रममा छन्,’ उनले भने ।
तत्कालका लागि नगरपालिकाको एउटा ठुलो सभाहलमा ५–७ वटा टेबल राखेर विभिन्न शाखा सञ्चालन गर्ने र सेवा प्रवाह सुचारु गर्ने योजना बनाइएको उनको भनाइ छ । दीर्घकालीन पुनर्निर्माणका लागि चालु आर्थिक वर्षका केही विकास योजनाको बजेट रोकेर भए पनि प्रशासनिक भवन बनाउनुपर्ने निष्कर्षमा नगरपालिका पुगेको छ ।
‘जनतालाई सेवा दिन पहिला प्रशासनिक भवन नै चाहियो, विकासका काम पछि पनि हुँदै गर्लान्,’ नगर प्रमुख भट्टले भने । यो आन्दोलन भ्रष्टाचार र कुशासनविरुद्ध भएको बताइए पनि यसको स्वरूप विध्वंसात्मक देखियो । जनतालाई घरदैलोमा सेवा प्रवाह गर्ने स्थानीय सरकार पनि यसको निसाना बनेकोमा आफूलाई दुःख लागेको नगर प्रमुख भट्ट बताउँछन् । उनले भने, ‘जसले गल्ती गरेको छ, उसले पाठ सिक्नुपर्छ । यदि हामीले गलत गरेका छौँ भने त्यसको छानबिन गर्न अख्तियारजस्ता संवैधानिक निकाय छन् । देशमा कानुन छ, तर यसरी भौतिक संरचना ध्वस्त पार्नु समाधान होइन ।’
उनी यो आन्दोलन जेनजीको मात्र नभएर यसको नाममा केही घुसपैठ गर्ने तत्त्वले व्यक्तिगत प्रतिशोध साँध्न यस्तो घटना गराएको मान्छन् । ‘हामीले पनि व्यवस्था परिवर्तनका लागि ०४६ साल र ०६२\०६३ सालमा आन्दोलन गर्यौँ, तर यसरी तोडफोड र आगजनी गरेनौँ । यो सरासर गलत हो र यस्ता गतिविधि रोकिनुपर्छ,’ उनले भने । यो दुःखद् घटनापछि अब जनताकै साथ र सहयोग लिएर नगरपालिकालाई पुरानै अवस्थामा फर्काउने अभियानमा आफूहरू लागेको भट्ट बताउँछन् ।