अत्तरिया : दार्चुलामा आइतवार भएको जीप दुर्घटनामा घाइते भएका पाँचजनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको अस्पतालका जनसम्पर्क व्यवस्थापक जगत महताले जानकारी दिए ।
महाकाली नगरपालिका–९ गजुराडीमा भएको उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
घाइतेमध्ये वर्ष १४ का त्रिभुवन बहादुर पाल, वर्ष २७ का लोकेन्द्र धामी, वर्ष २५ का शुभम पाल, वर्ष २७ का जयबहादुर पाल र वर्ष २८ का पंकज पालको धनगढीको मायामेट्रो उपचार भइरहेको छ । अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ । अन्य घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।
उक्त जीप (बागमती प्रदेश ०३००१ ज ०२०६) आइतवार दिउँसो सकारबाट वडा नम्बर ६ निसिलतर्फ जाँदै गर्दा गजुराडी भन्ने स्थानमा सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा महाकाली नगरपालिका–९ का २८ वर्षीय नरेशबहादुर पालको मृत्यु भएको थियो ।