घरमा टावरले काम नगर्दा बाजुरा काँडामा फोन गर्दा डाँडाको प्रयोग

बाजुरा  : बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –१ काँडावासी फोन आउँदा डाँडा धाउने गरेका छन् । जिल्लाका अन्य ठाउँमा फोरजी सेवा सुचारु भए पनि यहाँ भने अहिलेसम्म फोन समेत राम्रोसँग लाग्ने गरेको छैन ।

फोनको टावरले राम्रोसँग नलागेपछि यहाँका स्थानीयका आफन्तले बाहिरदेखि फोन गरेपछि उनीहरु कुरा गर्न अग्लो डाँडा धाउने गर्छन् । पहिलेदेखि यहाँ घाम लागेको बेलामा अली फोन लाग्ने र पानी परेको बेला फोन नलाग्ने गरेको खप्तड छेडेदह गाउँपालिका वडा नं –१ का वडा अध्यक्ष वीरबहादुर रावलले बताए।
उनले भने, “अहिले वडामा अधिकाशं सबै काम अनलाइनमार्फत गर्नुपर्ने हुन्छ । त्यसका लागि कार्यालयमा वाईफाईको अति आवश्यक छ । तर हाम्रो वडामा भने वाईफाई त के फोन गर्न समेत अँझै अग्लो डाँडामा जानुपर्छ ।”
कार्यालयमा विद्युत सेवा सुचारु भएको भए पनि गाउँ नजिक टेलिकमको टावरको व्यवस्था नहुँदा वडामा आउने सेवा ग्राहीहरुलाई अनलाइनबाट हुने सेवा दिन निकै समस्या हुने गरेको अध्यक्ष रावलले बताए ।

खप्तड छेडेदह गाउँपालिका ७ वडामध्ये वडा नम्बर–१ काँडा र २ जयवाग्यश्वरी वारिपारीमा रहेका छन् । यो समस्या काँडाको मात्र नभई वडा नम्बर–२ जयवाग्श्वरीको समेत उस्तै हो । यहाँ पनि राम्रोसँग फोन लाग्दैन । फोन लागे पनि राम्रोसँग कुरा गर्न मिल्दैन । एक दुई मिनेट कुरा गरेपछि फोन कटिहाल्छ ।

बाजुराको त्रिवेणी नगरपालिका –४ तोलीमा रहेको नेपाल टेलिकमको टावरको भरमा काँडाका अधिकाशं ठाउँमा फोन लाग्ने गरेको छ । घाम लागेको दिनमा कतै फोन लाग्ने गर्दछ भने पानी परेको दिनमा फोननै लाग्दैन ।

यहाँ झण्डै ३५ किलोमिटरभन्दा टाढा रहेको यो टावरले त्यहाँ राम्रोसँग काम गर्दैन् । काँडाका स्थानीयलाई नेटर्वकको राम्रो सुविधा दिनका लागि यहाँका धौलछडामाथिको डाँडामा टावर हुनुपर्ने खप्तड छेडेदह गाउँपालिका वडा नम्बर–१ काँडाका स्थानीय पुरन रावलले बताए ।

खप्तड छेडेदह गाउँपालिका –१ काँडाको झण्डै चार हजार आठ र वडा नं –२ जयवाग्श्वरीमा दुइ हजार ८६४ जनसङ्ख्या छ । यता नेपाल टेलिकम बाजुरा शाखाले त्यो समस्या अहिलेको नभई पुरानै रहेको जनाएको छ । यसका लागि त्यहाँ नजिक एउटा नयाँ टावर थप गर्नुपर्ने नेपाल टेलिकम जिल्ला शाखा बाजुराका प्रमुख ईश्वर सिंहले बताए।

उनले भने, “हामीलाई त्यस वडा कार्यालयले नेपाल टेलिकमको टावर थप गरिपाउँ भनेर निवेदन दिनुपर्छ । त्यसैको आधारमा हामी पनि डडेल्धुरा र अत्तरिया शाखालाई सिफारिस गरिदिन्छु ।” त्यहाँदेखि त्यस ठाउँमा टावर थप्ने भनेपछि हामी लगत्तै त्यहाँ गएर टावर कहाँ राख्ने त्यसको ठाउँ सर्भे गरी टावर स्थापना गर्ने सिहले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.