कैलाली र कञ्चनपुरमा वैवाहिक बलात्कार बढ्दो

अत्तरिया : कैलालीकी एक महिला १४ वर्षकै उमेरमा विवाह गरिन । हाल २५ वर्षीय उनी विवाहपश्चात् निरन्तर श्रीमान यातना खेप्दै आएकी छन ।

मादक पदार्थ सेवन गरेर श्रीमान जबरजस्ती यौन सम्पर्क गर्न खोज्ने, अस्वीकार गरे कुटपिट गर्ने जस्ता घटना उनको जीवनमा भइरहेका छन् ।

“मेरो वैवाहिक जीवन यातनामा बितिरहेको छ,” उनी भन्छन् “मेरो शरीरको अधिकार मसँग छैन ।” कतिपय अवस्थामा श्रीमानको यौन चाहना पूरा गर्न नसकेको खण्डमा यौनाङ्गमै समेत चोट पु-याउने गरी आफूमाथि कुटपिट भएको उनले पीडा सुनाइन । श्रीमानको निरन्तर यातना खेप्न नसकेपछि सम्बन्धविच्छेदको प्रक्रियामा उनी अगाडि बढीन र बच्चाको पालनपोषणका लागि धनगढीमा पसल गरेर उनी छुट्टै बसीन ।

यस्तै ११ वर्षअगाडि गाउँका युवकसँग विवाह गरेकी कञ्चनपुरकी एक ३२ वर्षीय महिलाको जीवन पनि यातनामय रह्यो । हाल सम्बन्धविच्छेदको प्रक्रियामा रहेकी उनका श्रीमानको हिंसाका कारण शारीरिक र मानसिक रूपमा कमजोर छन । “मादक पदार्थ सेवन गरेर ससाना कुरामा झगडा गर्ने, पिट्ने, मेरो इच्छा नहुँदा पनि जबरजस्ती गर्ने जस्ता कार्य गर्थे,” उनी भन्छन, “मेरो शरीर श्रीमान्को अधिकार हो सोच्दै हिंसा खेप्न बाध्य थिएँ ।” श्रीमानले चरम यातना दिन थालेपछि उनले पनि अब सम्बन्धविच्छेदको बाटो रोजिन ।

यहाँ यी दुई प्रतिनिधिमूलक घटना मात्र हुन् तर यस्ता घटना सुदूरपश्चिममा बढ्दो क्रममा रहेको महिलाको क्षेत्रमा काम गर्दै आएकी महिला पुनस्र्थापना केन्द्र (ओरेक) को प्रतिवेदनले देखाएको छ । ओरेकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन २०२५ अनुसार सुदूरपश्चिममा विवाहेत्तर सम्बन्धमा रहेका महिलामाथि वैवाहिक बलात्कार बढ्दो क्रममा छ । ओरेकले २०२४ जुलाईदेखि २०२५ जुनसम्म यो प्रदेशमा २१ वटा वैवाहिक बलात्कारको घटना अभिलेख गरेको छ ।

कैलाली, कञ्चनपुर र बाजुरामा नौ\नौ वटा वैवाहिक बलात्कारको घटना अभिलेख भएको सो संस्थाले जनाएको छ । वैवाहिक जीवनमा जबरजस्तीलाई अझै पनि श्रीमानको अधिकार वा वैवाहिक कर्तव्यका रूपमा सामान्यीकृत गर्ने परिपाटीका कारण धेरै जसो महिला मौन बसेर यातना सहने गरेको ओरेकका सुदूरपश्चिम संयोजक सपना थापाले बताइन । यस किसिमको हिंसालाई समाजले नै औपचारिक रूपमा स्वीकृति दिएको उनको भनाइ छ । यस्तै यो अवधिमा कैलालीमा २८ वटा लैङ्गिक विभेदमा आधारित घटना भएको ओरेकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.