कैलालीमा भेटियो विषालु रसेल भाइपर सर्प

धनगढी : कैलालीमा अत्यन्त विषालु बहिरा खद्रा (रसेल भाइपर) सर्प भेटिएको छ । टीकापुर नगरपालिका–७, बैदीस्थित खेतमा उक्त सर्प भेटिएको हो ।

धान काट्ने क्रममा मेसिनमा च्यापिएर मरेको अवस्थामा सर्प फेला परेको स्थानीय भोजराज ढुङ्गानाले जानकारी दिए । उनले भने, “अजिङ्गर फेला परेको भनेर स्थानीयले मलाई खबर गरे, गएर हेर्दा अत्यन्त विषालु सर्प रसेल भाइपर रहेछ ।”

ढुङ्गानाका अनुसार सो क्षेत्रमा पछिल्लो तीन वर्षयता लगातार यी सर्प देखा परेका छन् । गत वर्ष घरमा मान्छे सुतेको खाटमुनि रसेल भाइपर भेटिएको थियो । बेलैमा देखा परेपछि उद्धार गरेर सुरक्षित स्थानमा छोडिएको ढुङ्गानाको भनाइ छ । यसै गरी दुई वर्षअगाडि पनि खेतमा धान काट्ने बेला मेसिनले च्याप्दा मरेको अवस्थामा सर्प भेटिएको थियो ।

सर्प संरक्षण एवं उद्धारमा सक्रिय टीकापुरका लक्ष्मण उपाध्यायले कैलालीमा रसेल भाइपर सर्प नियमित भेटिइरहेको बताए । उनले आफूले पनि थुप्रै रसेल भाइपरको उद्धार गरिसकेको सुनाउँदै यो सर्पले टोकेमा मान्छेको तत्काल मृत्यु हुने गरेको उल्लेख गरे।

उपाध्यायले यो वर्ष कैलालीको टीकापुर क्षेत्रबाट विभिन्न प्रजातिका ६२८ वटा सर्पको उद्धार गरेर मान्छेलाई सम्भावित जोखिमबाट जोगाएको छ । केही वर्षदेखि सर्प उद्धारको काम गरिरहेकाले हालसम्म तीन हजार ५५३ वटा सर्प उद्धार गरिसकेको उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.