अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१० खमैराका शेरबहादुर चौधरीको रहस्यमय मृत्युको घटनापछि परिवार न्यायका लागि आन्दोलनमा उत्रिएका छन् ।
असोज २३ गते राति घरमै आएर ढोका तोड्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागेका शेरबहादुर भोलिपल्ट खोलामा मृत भेटिएका थिए । तर, परिवारका अनुसार घटना योजनाबद्ध हत्या भए पनि प्रहरी प्रशासनले कारबाही नगरी अभियुक्तलाई उम्काएको आरोप लगाउँदै बिहिबार ईलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरेका छन् ।
गोदावरी नगरपालिका स्तरीय बैठकले “न्याय संघर्ष समिति” गठन गर्दै चरणबद्ध कार्यक्रम घोषणा गरेको हो । आज इलाका प्रहरी कार्यालय मालाखेती, शुक्रबार जिल्ला अदालत कैलाली घेराउ र त्यसपछि अत्तरियामा अनिश्चितकालीन चक्काजाम गर्ने तयारी गरिएको संघर्ष समितिका बाबुराम चौधरीले बताए ।
मृतककी भाउजू सलिना चौधरीले घटनामा संलग्न लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर विकास मल्ललाई पक्राउ गरे पनि पछि छोडिएको आरोप लगाइन् । “टाउको र खुट्टामा चोट, ढुङ्गा र चिरपल्टको डाम देखिँदाहुँदै पनि सामान्य मृत्यु भनेर रिपोर्ट निकालियो,” उनले भनिन्, “गरिब भएकै कारण हामीलाई न्याय मिलेन ।”
मृतकका काका लालबहादुर चौधरीले पनि प्रहरी र अदालतबीच मिलेमतो भएको दाबी गरे । उनका अनुसार शव उठाउँदा आफन्तलाई नबोलाई प्रमाणीकरण नगरी प्रहरी आफैंले उठाएको थियो ।
मुद्दा दर्ता गर्न पनि अनावश्यक ढिलाइ गरिएको उनले बताए ।
वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीले पीडितलाई न्याय दिलाउन पहल गरे पनि सुन्ने कोही नभएको बताए । उनले चौधरी समुदायमाथि निरन्तर दमन भइरहेको आरोप लगाए । प्रहरीका अनुसार असोज २३ गते राति ढोकामा हान्दै धम्की दिने लोकेन्द्र र विकासलाई पक्राउ गरिएको भए पनि हाल उनीहरूलाई रिहा गरिएको छ । परिवार भने यो हत्या प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कठोर कारबाहीको माग गर्दै सडक संघर्षमा उत्रिएको छ ।