अत्तरिया : सुदूरपश्चिम प्रदेशका जनताको दीर्घ प्रतिक्षा र आकांक्षासँग जोडिएको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालन प्रक्रियामा सरकार अघि बढेकामा स्थानीय सरोकारवालाहरूले स्वागत गरेका छन् । बिहिबार खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद सहितको ज्ञापन पत्र बुझाउँदै यथासिघ्र सञ्चालनको माग गरेका छन् ।
शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिले प्रधानमन्त्री कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै विश्वविद्यालयको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेको हो । समितिका सचिव धर्मसिंह कुँवर, सह–संयोजक आनन्दप्रसाद भट्ट, र संयोजक लोकराज पाण्डेले हस्ताक्षर गरेको ज्ञापनपत्रमा विश्वविद्यालय ऐतिहासिक उपलब्धिको रुपमा स्थापित हुँदै गएको उल्लेख छ ।
ज्ञापनपत्रमा सुदूरपश्चिमेली जनताको लामो संघर्ष र चाहनाबाट जन्मिएको यो विश्वविद्यालयले सम्पूर्ण क्षेत्रको स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवा प्रवद्र्धनमा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरिएको छ ।
समितिले गोदावरी नगरपालिकाको गेटामा रहेको विश्वविद्यालयलाई शीघ्र कार्यान्वयनमा ल्याउन र आवश्यक प्रशासनिक तथा शैक्षिक प्रक्रिया तत्काल सुरु गर्न माग गरेको हो । ज्ञापनपत्रमा विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारसहितका महत्वपूर्ण पदहरूमा तत्काल नियुक्ति गर्न माग गरिएको छ ।
छिटो ६ सय शय्याको अस्पतालसञ्चालन गर्न र शैक्षिक सत्र २०८२ बाट नै एमबिबिएस अध्ययन–अध्यापन कार्य प्रारम्भ गर्न माग गरिएको छ । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकारलाई विश्वविद्यालयको कार्यान्वयन प्रक्रियामा सक्रिय सहयोग र ध्यानाकर्षणका लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
विज्ञान, शिक्षा र सेवा क्षेत्रको सन्तुलित विकासका लागि सुदूरपश्चिममा यो विश्वविद्यालयको सफल स्थापना अनिवार्य रहेको समितिको भनाइ छ । ज्ञापनपत्र कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको हो ।
ज्ञापनपत्र बुझ्दै गर्दा प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले सुदूरपश्चिमको गौरवका रूपमा यो विश्वविद्यालय सफल र जनमुखी बन्न सरकार तथा प्रशासन सधैं सहयोगी रहने उल्लेख गरे ।