सरकारको प्राथमिकतामा छैन सेती लोकमार्ग, १६ बर्षमा ट्रयाक खोल्न नै सकीएन

अत्तरिया : त्रिदेशीय महत्वको सेतीलोक मार्ग निर्माणको काम कछुवा गतिमा अघि बढिरहेको छ । निर्माण सुरु भएको १६ वर्षमा ट्रयाक खोल्ने काम समेत सकिएको छैन । कैलालीको टीकापुरबाट बझाङको ताक्लाकोटसम्मको ३५९ मध्ये हालसम्म २१२ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ ।
राजमार्ग निर्माणको कामलाई दुई भागमा विभाजन गरिएको छ । कैलाली, डोटी, अछाम र बाजुरा जिल्ला हेर्ने गरी सेती राजमार्ग (दक्षिण खण्ड) र बझाङ हेर्ने गरी सेती राजमार्ग (उत्तर खण्ड) नामाकरण गरिएको छ ।
दक्षिण खण्ड हेर्न अछामको साँफेबगर र उत्तर खण्ड हेर्न बझाङको चैनपुरमा योजना कार्यालय राखिएका छन ।
दक्षिण तर्फको २०४ किलोमिटर मध्ये १३६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको सेती राजमार्ग (दक्षिण खण्ड) का सूचना अधिकारी इन्जिनियर केशवदत्त मिश्रले जानकारी दिए । उनका अनुसार कैलालीको टीकापुरबाट खिमडीसम्मको ७२ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको छ । त्यस्तै अछामको ८० किलोमिटरमा ५८ किलोमिटरमा ट्रयाक खोलिएको छ ।
डोटीको ४० किलोमिटरमा ६ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ भने बाजुराको १२ किलोमिटरमा ट्रयाक खोल्ने काम सुरु हुन सकेको छैन ।
सूचना अधिकारी मिश्रले डोटीमा रुख काट्ने प्रकृयामा भएको ढिलाई र बाजुरामा खप्तड राष्ट्रिय निकुञ्जका कारण काम ढिलो भएको बताए । ‘डोटीमा रुख काट्न दुई वर्ष कुर्नुपर्यो यता बाजुरामा भर्खरै ईआईए भैरहेको छ’ उनले भने,‘जतिसक्दो छिटो गर्ने प्रयास भैरहेको छ ।’
राजमार्ग निर्माणको काम आव २०६६÷०६७ मा सुरु भएको थियो । करिव एक दशक निर्माणको काम सडक डिभिजन कार्यालय महेन्द्रनगरले आफै हेर्यो । आव २०७४÷०७५ मा भने दुई छुट्टाछुट्टै योजना कार्यालय स्थापना गरेर काम अघि बढाईयो । त्यसपछिका वर्षहरुमा भने राजमार्ग निर्माणको कामले केही हदसम्म गति लिएको सूचना अधिकारी मिश्र बताउँछन ।
कैलालीको मुख्य काम सकिएको सेती राजमार्ग (दक्षिण खण्ड) का योजना प्रमुख रामकुमार देवले जानकारी दिए । उनले टीकापुरबाट खिमडीसम्म हिउँदको समयमा सवारी साधन सञ्चालन गर्न सकिने बताए । ‘वर्षायाममा मात्रै समस्या होला नत्र हिउदमा कुनै समस्या छैन’ उनले भने, ‘हामी छिटो गर्ने प्रयासमै छौ ।’
उनले प्रयाप्त बजेट विनियोजन नभएका कारण पनि काम सुस्त भैरहेको बताए । राजमार्ग निर्माणमा १६ अर्ब लागत अनुमान गरिएको छ । चालु आवमा २५ करोड मात्रै बजेट विनियोजन भएको छ । ‘स्रोतको कमी छ’ योजना प्रमुख देवले भने,‘स्रोत घट्दै जाने हो भने कालोपत्रे हुन त अझै समय लाग्न सक्छ ।’
राजमार्गमा पर्ने विभिन्न ठूला साना नदी÷खोलाहरुमा पुल निर्माणको काम भैरहेको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ कोल्तडीस्थित झाप्री खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बर्दगोरीया गाउँपालिकाका कुईरे खोला र काँडा खोलामा पुल निर्माण भैसकेको छ । कैलाली र डोटीको सिमानामा पर्ने ठूलीगाड र डोटी र अछामको सिमानामा पर्ने सेती नदीमा पुल निर्माणको प्रकृया सुरु हुन सकेको छैन ।
उता सेती राजमार्ग (उत्तर खण्ड) को १५५ किलोमिटर मध्ये ७६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको योजना प्रमुख बिरेन्द्रकुमार यादवले जानकारी दिए । उनले बाजुरा र बझाङको सिमाना थामलेकबाट चैनपुरसम्मको ३६ र चैनपुरबाट ताक्लोटसम्मको ४० किलोमिटरमा ट्रयाक खोलेको बताए । उनका अनुसार चैनपुरबाट ताक्लाकोटसम्मको सडकमा भौगोलिक कठिनाईले ट्रयाक खोल्ने काम सुस्त भैरहेको छ ।
‘कडा चट्टान छन । निकै भौगोलिक समस्या छ’ उनले भने,‘तैपनि छिटो गर्ने प्रयास भैरहेको छ ।’ उनले बजेट विनियोजनको अवस्थाले पनि राजमार्ग निर्माणको काम प्रभावित भैरहेको जानकारी दिए । यो राजमार्ग दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनलाई जोड्ने उद्देश्यले निर्माण भैरहेको छ । राजमार्ग निर्माणको चर्चा भने वि.सं. २०४२ मै सुरु भएको थियो । तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजमार्ग निर्माणको अवधारणा अघि सारेका थिए । उनी देशको चार पटक प्रधानमन्त्री बने । आफैँले अघि सारेको राजमार्ग निर्माणको काम सुरुवात गर्न सकेनन् । उनी २०३९, २०४६, २०५३ र २०५९ मा प्रधानमन्त्री बनेका थिए ।
सुदूरपश्चिमकै शेरबहादुर देउवा चन्द भन्दा बढी पटक बढी प्रधानमन्त्री बने । देउवा २०५१, २०५७, २०६१, २०७३ र २०७७ गरी पाँच पटक प्रधानमन्त्री बने । देउवाको कार्यकालमा समेत यो राजमार्ग निर्माणको कामले गति लिन सकेन । राजमार्ग निर्माणको काम २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले सुरु गरेको थियो । पहिलो पटक नेपाल नेतृत्वको सरकारले आव २०६६÷०६७ मा बजेट विनियोजन गर्यो ।
तत्कालिन समयमा राष्ट्रिय योजना आयोगको सदस्य रहेका डा. प्रेमबहादुर कुँवर राजमार्ग निर्माणको सुरुवात निकै संघर्ष गर्नुपरेको स्मरण गर्छन । उनले आफूले महत्वका साथ अघि बढाएको राजमार्ग निर्माणको कामलाई तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले अवरोध गरेको बताए । ‘मन्त्रालयमै गएर झगडा गर्नु परेको थियो’ उनले भने,‘राज्यको प्राथमिकतामा नपरेकै कारण राजमार्ग निर्माणको कामले गति लिन सकेको छैन ।’
यो राजमार्गसँग कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल जोडिएका छन । हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरसम्म पुग्न यो राजमार्ग निकै छोटो स्थल मार्ग हुनेछ । राजमार्गले सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लाका बासिन्दालाई तराई झर्न सहज हुने युवानेता रंग अधिकारी बताउँछन । उनले हाल दिनभरीको यात्रा गर्नुपर्ने वाध्यता यो राजमार्ग निर्माण भएपछि केही घण्टाको दूरीमा पार गर्न सकिने बताए । ‘अछाम, बाजुरा र बझाङका बासिन्दाका लागि त निकै छोटो हुने नै छ’ उनले भने, ‘यो सँगै अरु जिल्लाका बासिन्दालाई समेत पायक पर्ने देखिन्छ ।’
निकै महत्वको राजमार्ग निर्माणको काममा भैरहेको ढिलासुस्तीले स्थानीय बासिन्दा दिक्क भएका छन । मोहन्याल गाउँपालिका वडा नम्बर २ कोल्तडीका तिलक थापाले १२ वर्षको उमेरमा राजमार्ग निर्माणको कुरा सुनेका थिए । अहिले उनी ३७ वर्षका भैसके । ‘बुढेशकालले छुने अवस्था भैसक्यो अहिलेसम्म सडक बन्ने ठेगान छैन’ उनले भने, ‘हाम्रो सपना कहिले पूरा हुने हो थाहा छैन ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.