प्रदेशका जिल्ला दौडाहमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह

अछाम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नेपाली कांग्रेस अछामले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भई सम्बोधन गरेका छन।
मंगलबार अछाम पुगेका मुख्यमन्त्री शाह हाल प्रदेशका विभिन्न जिल्लामा पुगेर पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी भईरहेका छन् ।
मुख्यमन्त्री शाहले जिल्ला भ्रमणका क्रममा जनप्रतिनिधि, कर्मचारी, पार्टीका कार्यकर्तालाई समेत ढाडस दिएका छन् । सबैलाई इमानदार भएर काम गर्न निर्देशन दिँदै उनले देश र जनताको पक्षमा इमानदार भएर काम गरेका कसैले कोहीसँग डराउन नपर्ने प्रस्ट पारे ।

मुख्यमन्त्री शाहले जेनजी आन्दोलनबाट नेपाली राजनीतिमा ल्याएको तरङ्ग, विकास निर्माणमा देखिएको जनगुनासो र आफ्नै पार्टी नेपाली कांग्रेसभित्र चुलिएको अन्तरविरोधलाई सम्बोधन गर्ने एक अर्थपूर्ण संवादको प्रयासका रूपमा यो भ्रमणलाई उपयोग गरेका छन् । उनले आफ्ना हरेक सम्बोधनमा जेनजी आन्दोलन ‘अकल्पनीय’ भएको स्वीकार गर्दै यसले दिएको सन्देशलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
अछाममा भएको कार्यक्रममा मुख्यमन्त्री शाहले मानवसेवामूलक भावना रहेको नेपाली कांग्रेसभित्र पछिल्लो समय मानवीय संवेदना हराउँदै गएको बताए। उनले भने “जेन्जी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा माथि साँघातिक आक्रमण हुँदा पनि पार्टीको कार्यसम्पादन बैठकमा न सहानुभूति प्रकट गरियो, न त उहाँको शीघ्र स्वास्थ्यलाभको कामना नै गरियो। पार्टी सभापति माथिको आक्रमणप्रति दुःख प्रकट गर्न नसक्नु के हामी मानवीयता हराइसकेका हौँ त ?”
मुख्यमन्त्री शाहले हस्ताक्षर अभियान चलाएर नेतृत्वमा पुग्न खोज्ने प्रवृत्ति प्रति पनि संकेत गर्दै, पार्टी नेतृत्व जनताको जनमत र कांग्रेसको आन्तरिक जनमतबाट आउनुपर्ने बताए।
उनले पार्टीले अब ढिलाइ नगरी महासमिति बैठक आह्वान गरी सैद्धान्तिक र वैचारिक बहसमार्फत नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण तय गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.