बाजुरा : बाजुराका अधिकांश गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुने ढुङ्गाको जाँतो लोप हुन थालेको छ । यहाँका पहिला पुस्ताको पालामा घरघरमा जाँतो हुने गरे पनि अहिलेको नयाँ पुस्ताको घरमा भने जाँतो खोज्दा पनि नभेटिने अवस्थामा पुगेको छ ।
विगतमा यहाँका गाउँ बस्तीमा जाँतोको माध्यमबाट घरमा उपभोग गरिने आँटो पिठो पिस्ने प्रचलन थियो । पछिल्लो यहाँ हरेक गाउँ बस्तीमा बिजुली पुगेसँगै घर घरमा कुटानी पिसानी गर्ने साना साना विद्युतीय उपकरण (मिल) पुगेपछि अहिले परम्परागत रूपमा रहेको त्यो जाँतो भने विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।
पुराना पुस्ताले निर्माण गरेका ती जाँतो अहिले कतै कतै कसैको घरमा देखिए पनि ती प्रयोगविहीन बनेका छन् । जाँतोका साथसाथै परम्परागत रूपमा रहेका ढिँकी कोल लगायतका वस्तुहरू समाजबाट विस्तारै लोप हुने अवस्थामा रहेको हिमाली गाउँपालिका ६ रामबहादुर रावतले बताए ।
अहिले त्यो गाउँदेखि विस्तारै लोप हुँदै गएको छ । कोही कोहीको घरमा त अहिले पनि छन् । तर ती प्रयोगमा भने आएका छैन । पीस्दा केही पैसा नलाग्ने यस्ता जाँतो अहिले पनि यसलाई नयाँ प्रविधिसँगै जोडिदिएको भएर राम्रो हुने रावतले बताए ।