अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं २ को तेघरीमा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन ।
गोदावरी नगरपालिका सँगै संघीय अनुदानबाट आएको आर्थिक सहयोग गोदावरी २ को तेघरीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन निर्माण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले यहाँका विकास निर्माणको बारेमा आफु जानकार रहेको बताए । पालिकाका प्रत्येक वडाको हरेक विकास निर्माणका गतिविधिहरुका बारेमा मलाई थाहा उनले बताए । गोदावरी नगरपालीकाले ल्याएको एक वडा एक चिकित्सक कार्यक्रमलाई सबै ठाउँमा सबै जनताका लागि स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्य सहित तेघरी क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा केन्द्र गर्न पाउदा आफू खुसी रहेको मेयर भट्टले बताए ।
मेयर भट्टले यस क्षेत्रका बासिन्दाले विगतमा मेडिकलबाट लिनुपर्ने सेवाहरू अब दक्ष स्वास्थ्यकर्मी सहित नयाँ स्वास्थ्य सेवा केन्द्रमै सहज रूपमा प्राप्त गर्न सकिने अपेक्षा व्यक्त गरे । उनले गोदावरी नगरपालिकाले गर्भवती महिलाहरूलाई प्रसूति गृहसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेको जानकारी दिँदै स्वास्थ्य सेवामा पहुँच वृद्धि नगरको प्राथमिकता भएको उल्लेख गरे ।
“सबै नागरिकले सकारात्मक सोचसहित हातेमालो गर्दै अगाडि बढ्ने हो भने नगरको समग्र विकासमा थप टेवा पुग्नेछ,” उनले भने ।